बागलुङ- क्षयरोग लागेका बिरामीले नियमित औषधि सेवन नगर्दा बागलुङमा क्षयरोगका बिरामी बढ्दै गएका छन्। नियमित औषधि खाए निको हुने रोग समयमा औषधि सेवन नगर्दा निको हुन गाह्रो भएको छ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार क्षयरोग लागेका बिरामीले नियमित औषधि सेवन गर्न नखोज्दा निको हुने रोग पनि दीर्घरोग बन्न पुगेको छ।
चार महिनामा ५२ जना नयाँ बिरामी
कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ५२ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन। जसमा सर्ने खालको क्षयरोग (टिबी) २८ जनामा छ भने, २४ जनामा नसर्ने खालको क्षयरोग लागेको छ। यसमा महिला भन्दा पुरुषको संख्या बढी रहेको स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए।
अघिल्लो वर्ष जिल्लामा कूल दुई सय क्षयरोगका बिरामी थिए। गुरौले भने, ‘यस वर्षको पहिलो चौमासिकको हेर्दा झनै बढ्ने देखिएको छ। यही दरले हो भने यस वर्ष २ सयभन्दा माथि क्षयरोगका बिरामी पुग्ने देखिन्छ। यसको न्यूनीकरणका लागि स्थानीय तहले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरेका छन् तर घट्ने दर भने न्यून हुँदै गएको छ।
महिलाभन्दा पुरुष धेरै
जिल्लामा गत वर्ष कूल दुई सयमध्ये सर्ने खालका बिरामी १ सय १२ रहेका थिए भने, नसर्ने खालका बिरामी ८८ जना रहेका थिए। क्षयरोग महिलाको तुलनामा पुरुषमा बढी देखिने गरेको गुरौले बताए।
गत वर्ष १ सय ३० जना पुरुष रहेका थिए भने बाँकी ७० जना महिला रहेका थिए। ‘दुई जना पुरुष बराबर झन्डै एक महिलालाई क्षयरोग लागेको छ,’ कार्यालय प्रमुख गुरौले भने, ‘क्षयरोग ठूलो होइन। बिरामीको लापरबाहीले ठूलो बनाएको हो, स्वास्थ्य संस्थाले औषधि वितरण मात्र हैन परामर्श पनि दिन्छ। तर बिरामीले आफ्नो स्वास्थ्यको बारेमा चासो नदिँदा यसको प्रकोप झनै बढदै गएको छ।
क्षयरोगको पत्ता लगाउने दर ८० प्रतिशत छ भने यसको उपचार सफल हुने दर भने ९० प्रतिशत रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ अधिकृत देवप्रकाश घिमिरेले बताए।
‘जिल्लामा क्षयरोग पत्ता लागेका ९० प्रतिशत बिरामीले नियमित औषधि सेवन गरेको पाइएको छ। बाँकी १० प्रतिशतले भने समयमा औषधि सेवन गरेका छैनन्,’ घिमिरेले भने, ‘बाँकी १० प्रतिशत क्षयरोगीका कारण यसको प्रकोप झनै बढ्दै गएको छ। समाजमा अझै पनि समयमा पहिचान नहुँदा यसमा समस्या आएको हो।
बडिगाड गाउँपालिकामा सबैभन्दा बढी
कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको बडिगाड गाउँपालिकामा क्षयरोगका बिरामी बढी रहेका छन्। अघिल्लो वर्ष बडिगाड गाउँपालिकामा सबैभन्दा बढी ५४ जना क्षयरोगका बिरामी थिए भने यस वर्षको हालसम्म १९ जना रहेका छन्।
त्यसैगरी चालू वर्षको प्रथम चौमासिकमा निसीखोलामा ४ जना, बागलुङ नगरपालिकामा ७ जना, तमानखोलामा ३ जना, बरेङमा २ जना, ढोरपाटनमा ६ जना, गलकोटमा ५ जना, जैमिनीमा ३ जना र काठेखोलामा ३ जना रहेका छन्। ताराखोला गाउँपालिकामा भने हालसम्म क्षयरोगका बिरामी नरहेको क्षयकुष्ठ अधिकृत घिमिरेले जानकारी दिए।
जिल्लाभर १३ स्थानमा परीक्षण केन्द्र
क्षयरोगको खकार परीक्षणका निम्ति जिल्लाभर १३ स्थानमा परीक्षण केन्द्र सञ्चालनमा छन्। सदरमुकामको धौलागिरी अञ्चल अस्पताल र स्वास्थ्य कार्यालयमा खकार परीक्षण हुन्छ भने अन्य स्वास्थ्य केन्द्रहरु गलकोटको हरिचौर, बरेङको बाटाकाचौर, जैमिनीको कुश्मिसेरा ढोरपाटनको बुर्तिबाङ र बोबाङ निसीखोलाको, बोहोरागाउँ र निसी, तमानखोलाको तमानखोलाको, बोङगादोभान ताराखोलाको हिल र अर्गल बागलुङ नगरपालिलकाको पैयुँपाटा, नारायणस्थान खकार परीक्षण हुन्छ। यसको उपचारका लागि भने जिल्लाका सबै स्वास्थ्य संस्थाबाट औषधि पाइने स्वास्थ्य कार्यालयले जनाएको छ।