काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पताल दुब्लाउने र क्लिनिक मोटाउने परिपाटीमा सुधार गर्दै सरकारी अस्पताललाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्ने बताएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरको छैठौँ वार्षिकोत्सवमा बोल्दै मन्त्री ढकालले सरकारी अस्पताललाई जनताको भरोसाको केन्द्र बनाउनुपर्ने बताए।
उनले भने भने, ‘अनियमिताको बेतिथि क्रमशः घटाउँदै त्यसलाई शून्यमा लगिने छ, विधिमा चल्ने परिपाटीको थालनी गरिने छ।’
उनले मन्त्रालयको जिम्मेवारीमा आएपछि धेरै अस्पताल निरीक्षण गर्दा अस्पतालपिच्छे डाक्टर र नर्सको सेवामा एकरुपता नभएको गुनासो रहेकोले सेवामा एकरुपता ल्याउने काम गरिने बताए।
‘सबै काम पारदर्शी बनाउँदै आस्थाका आधारमा भन्दा कामका आधारमा मूल्यांकन गरिने छ’ उनले अगाडि भने, ‘निश्वार्थ ढंगले काम गर्ने छौँ। त्यसका लागि सुझाव, आलोचना र टिप्पणी गरी राम्रो काम गर्न सहयोग गर्नुहोला।’
ट्रमा सेन्टर ६ वर्षअघि मंसीर ९ गतेबाट सञ्चालनमा आएको हो। तर, सेन्टरका निर्देशक वैदेशिक भम्रणमा गएकाले समयमै वार्षिकोत्सव कार्यक्रम भएको थिएन।
मन्त्री ढकालले सबै कुरा निर्धारित समयमा व्यवस्थित रुपमा गर्न सुझाए। उनले भने, ‘कार्यक्रम निकै ढिला सुरु भयो। अस्पतालका व्यक्तिलाई समयबारे महत्वबारे भन्न नपर्ने हो। शल्यक्रिया पनि त एक छिन ढिला भए मानिस मर्नसक्ने अवस्थामा हुन्छ।’
स्वास्थ्य सचिव खगराज बरालले पनि निर्धारित समयभन्दा निकै ढिला र फितलो व्यवस्थापनबारे असन्तुष्टि व्यक्त गरे।
‘वार्षिकोत्सव जस्तो खुसीको दिनमा नराम्रा कुरा गर्नु हुँदैन तर समय व्यवस्थापन गर्दै निर्धारित समयमै आफ्ना कामहरु गर्ने परिपाटीको थालनी आफैंबाट सुरु गर्नुपर्छ,’ उनले भने।
ट्रमा सेन्टरले दुर्घटना, हिंसा, चोट पटकका कारण हुने भएका घाइते, हाडजोर्नी तथा नशा, मुटु शल्यचिकित्सा, प्लाष्टिक सर्जरी, नाक, कान, घाँटी र दन्त शल्यचिकित्साको विशेषज्ञ सेवा दिँदै आएको छ।
आर्थिक वर्ष ०७५/७६ मा ट्रमा सेन्टरमा ७९ हजार २ सय ९ जना मानिसले ओपिडी सेवा लिएका छन्। र ४ हजार २४ ले अन्तरंग सेवा लिएका थिए।
गत आर्थिक वर्षमा ७५ हजार १ सय ३३ जनाले ओपिडी सेवा लिएका थिए भने ३ हजार ८ सय ६१ ले अन्तरंग सेवा लिएको अस्पतालले जनाएको छ।