काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहमा बढुवाका लागि प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले यसका लागि ११औं तहका कर्मचारीको विवरण माग गरेको छ।
मन्त्रालयले बिहीबार सुचना जारी गर्दै २०७६ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका स्वास्थ्यका विभिन्न समुह/उपसमुहका ११ औं तहका कर्मचारीको विवरण पठाउन भनेको छ।
मन्त्रालयले माताहतका विभाग, कार्यालयमा कार्यरत कर्मचारीलाई व्यक्तिगत विवरण पठाउन पत्राचार समेत गरेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयमा १२औं तहको प्रमुख विशेषज्ञ पद सचिव सरहकै मानिन्छ।
संघीयता अनुसारको नयाँ संरचनामा स्वास्थ्यमा तीन वटा १२ औं तहको पद छ। यसअघि ४ वटा थियो।
मन्त्रालयमा अहिले तीन वटै पद खाली छ।
स्वास्थ्य सेवा ऐनमा प्रमुख विशेषज्ञ पदमा रिक्त भएको १५ दिनमै बढुवा प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था छ।
गत भदौमा प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेरले अवकाश पाएपछि ३ वटै पद खाली भएका हुन्। ०७४ साल मंसिरमा डा तरुण पौडेल र फागुनमा डा विनोदमान श्रेष्ठले अवकाश पाएपछि सो पदमा अर्को व्यक्ति बढुवा भएको छैन।
मन्त्रालयले पत्र प्राप्त नभए सुचनालाई नै आधार मानेर प्रत्येकको छुट्टछुट्टै रुपमा विवरण भरी सम्बन्धित कागजात समेत संलग्न राखि यही पुस १४ गतेसम्म पठाउन सूचित गरेको छ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५(२) मा १२औं तहको पदमा बढुवाको सिफारिुस गर्ने प्रयोजनका लागि बढुवा समितिको यही पुस २ गते बसेको बैठकले विवरण माग गर्ने निर्णय गरेको थियो।
मन्त्रालयमा रहने दुई जना प्रमुख विशेषज्ञमध्ये एक जनाले नीति योजना तथा अनुमगन, गुणस्तर मापन तथा नियमन महाशाखा हेर्ने र अर्कोले जनसंख्या व्यवस्थापन तथा सूचना महाशाखा र स्वास्थ्य समन्वय महाशाखा हेर्ने गरी जिम्मेवारी तोकिएको छ। तेस्रो व्यक्ति स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने प्रावधान छ ।
को-को छन् लाइनमा?
स्वास्थ्य सेवा विभागमा महानिर्देशक बनेका डा रोशन पोखरेल, स्वास्थ्य मन्त्रालयका सहसचिवद्धय डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागका डा भीमसिंह तिंकरी, कोशी अस्पतालका मेसु डा गुणराज लोहनी, वीर अस्पतालका मेसु डा केदार सेन्चुरी १२ औं तह बन्ने लाइन रहेको बुझिएको छ।
