काठमाडाैं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे शिक्षाध्यक्ष (रेक्टर)मा डा निरेश थापा नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा थापालाई रेक्टरको जिम्मेवारी दिएको मन्त्रालय स्रोतले जानकारी दियो।
प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले शिक्षाध्यक्ष पदको नियुक्तिका लागि डा निरेश थापा सहित तीन जनाको नाम सिफारिस गरेका थिए। डा थापा पहिलो नम्बरमा सिफारिसमा परेका थिए। दोस्रोमा प्राडा भरतमणि पोखरेल र तेस्रोमा प्राडा बद्री बडु सिफारिस भएका थिए।
रेक्टरमा नियुक्त भएका थापा विसं २०७१/०७२ सालदेखि प्रतिष्ठानमा कार्यरत छन्।
को हुन् डा थापा?
सैनामैना ६ रुपन्देही निवासी ४० वर्षीय डा निरेश थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका एशोसियट प्रोफेसर हुन्। उनले सन् (२०१५–२०१९) चीनको ह्ुवान विश्वविद्यालयबाट गाईनोकोलोजी, अन्कोलोजीमा विद्यावारिधि गरेका छन्।
क्रिश्चियन मेडिकल कलेज भिल्लोर भारतबाट सन् २०१२–२०१४ डिस्ट्यान्स फेलोसिप इन डाइबेटिज म्यानेजमेन्ट, सन् २००९–०१२ मा त्रिभुवन विश्वविद्यालयबाट एमडीजिपी र चीनकै उहान विश्वविद्यालयबाट सन् २०००–२००६ मा उनले एमबिबिएस गरेका हुन्।
विसं २०७१/०७२ सालदेखि डा थापा प्रतिष्ठानमा कार्यरत छन्।
प्रतिष्ठानमा विसं २०७२ सालमा महावैपाथरखोलाका जनकबहादुर शाहीको पेटबाट चारवटा फलामका राला (घण्टको डण्डा)को ‘मिराकल अपरेसन’ गरेपश्चात् उनी लोकप्रिय भएका थिए।
उनको राष्ट्रिय तथा अन्तराष्ट्रियगरी १५ जर्नलमा विभिन्न अध्ययन तथा अनुसन्धान सम्बन्धी लेख प्रकाशित भएका छन्। कोरियाबाट सञ्चालित जर्नल अफ गाईनाकोलोजीक अनकोलोजी जर्नलमा प्रकाशित डा थापाको लेख अनुसार जुम्लामा एक सय महिलामा ३–४ जनालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुने देखिन्छ।
यस्तै अन्तराष्ट्रियस्तरको विएमसि इन्फेक्सियस डिजिज जर्नलमा प्रकाशित लेख अनुसार पाठेघरको मुखको क्यान्सर गराउने एचपिभि भाईरस जुम्लाको महिलामा देशको अन्य ठाउँभन्दा बढी हुने गरेको देखिन्छ।