काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबिबिएस, बिडिएस लगायतका विषयको भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। आयोगले नयाँ भर्नाका सम्बन्धमा ओपन हाउस काउन्सेलिङ गरेर भर्ना प्रक्रिया अगाडि बढाउन शुक्रबार विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई निर्देशन दिएको हो।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीका अनुसार छात्रवृत्ति छनोटको काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने र अन्यको हकमा भर्ना प्रक्रिया अगाडि बढाउन भनिएको हो।
‘शिक्षा मन्त्रालयसँग समन्वय गरेर काउन्सेलिङको काम अगाडि बढाउन भनिएको हो,’ उनले भने, ‘छात्रवृत्ति बाहेकका हकमा ओपन हाउस काउन्सेलिङका लागि सुचना निकाल्ने र काउन्सेलिङका काम अगाडि बढाउन हामीले सुचना निकालेका हौँ।’
विभिन्न कारणले गर्दा एमबिबिएस, बिडिएस, नर्सिङ लगायतका स्नातक तहको भर्नामा ढिला भइसकेको छ। आयोगले शैक्षिक सत्रमा ढिला नहोस् भनेर प्रक्रिया अगाडि बढाउन बाटो खुला गरेको डा गिरीले जानकारी दिए।
भर्नाका लागि विश्वविद्यालय तथा प्रतिष्ठानहरुले प्रवेश परीक्षा यसअघि नै लिइसकेका छन्।