काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले समायोजनकाे काम छिट्टै सम्पन्न गर्ने गरी गृहकार्य अघि बढाएकाे बताएका छन्।
स्वास्थ्य मन्त्री ढकालले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसँग भेटेर समायोजनमा स्वास्थ्य मन्त्रालयले भोगेको समस्याबारे छलफल गरेका छन्।
उनले कर्मचारी समायोजनमा देखिएका समस्या सुल्झाएर समायोजन सम्पन्न गर्न मन्त्रालयको समायोजन गुनासो व्यवस्थापन समितिलाई समेत निर्देशन दिइसकेको बताए।
उनले भने, ‘मन्त्रीपरिषद्ले समायोजनको क्रममा तह तथा पद घटुवामा भएको त्रुटि सच्याउने निर्णय गरेको छ। समायोजनका क्रममा कतिपय कर्मचारीको तह तथा पद घटुवा भएको रहेछ। त्यसलाई हिजोको मन्त्रिपरिषद बैठकले टुगो लगाएको छ। अब पद घटुवा हुँदैन मन्त्रालयको समितिलाई रिवाइज गरेर गर्नुपर्छ कि के गरेर हुन्छ समायोजन छिटै सम्पन्न गर्न अघि बढेका छौँ।’
निजामती किताव खानामा भएको विवरण अनुसार नै पद तथा तह कायम हुने गरी निर्णय भएको उनले बताए । उनले यो निर्णयले २ हजार बढी कर्मचारीको समस्या समाधान हुने बताए। कुन स्वास्थ्य संस्थामा दरबन्दीभन्दा बढी कर्मचारीको तथ्यांक मगाइएको समेत उनले बताए।
स्वास्थ्य मन्त्रालय आएको एक महिना मन्त्रालय र सम्बन्धित निकायको स्थलगत अनुगमन गरेपछि मन्त्री ढकालले समायोजनको काम पहिला सम्पन्न गरेर अन्य काम गर्ने बताएका थिए।
सरकारी अस्पतालको स्थलगत निरीक्षण, विज्ञहरुको छलफल सकाएका मन्त्री ढकालले अब भने एक्सनमा गएको संकेत दिएका छन्। उनले सोमबारको मन्त्रीपरिषद्को बैठकमा मेडिकल काउन्सिल, गंगालाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेका छन्।