भरतपुर- चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक मोडुलर शल्यकक्ष (ओटी) सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको प्रमुख आतिथ्यमा मोडुलर ओटीको औपचारिक सुरुवात गरिएको हो।
मोडुलर ओटीबाट पहिलो सेवा बर्दियाकी ४० वर्षीया हरीकला जैशीले लिएकी छिन्। उनको पाठेघरको दायाँपट्टीको भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको हो।
शल्यक्रिया अस्पतालका कार्यकारी निर्देशक डा बिजयचन्द्र आचार्यले गरेका हुन्।
करिब १० करोड लगानीमा निर्माण भएको उक्त मोडुलर ओटीमा ८ वटा शल्यकक्ष रहेका छन्।
मोडुलर ओटीको सेवा सुभारम्भ गरेपछि मेयर दाहालले अस्पतालको सेवा विस्तार हुँदै गएकोमा खुशी व्यक्त गरिन्।
अस्पताल निर्देशक डा आचार्यले बिरामीको सहजताका लागि क्रमशः अन्य सेवाको पनि विकास र विस्तार गर्दै लैजाने जानकारी दिए।
कार्यक्रममा अस्पतालका डेपुटी डाइरेक्टर निर्मल लामिछानेले मोडुलर ओटीका विषयमा जानकारी दिएका थिए।
