काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन्। तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन्।
आँखा दानको घोषणापछि घिसिङले भने, ‘वास्तवमा मान्छेले मृत्युपरयन्त स्वर्ग जान पाउ भन्ने आशा राख्छ । शायद ज–जसले आँखा दान दिनुभाकोछ उहाँहरु स्वर्गमा बसेर आफ्नो आँखा प्राप्त गर्नुहनेहरुलाई हेरिराख्नुभएको होला जस्तो लाग्छ मलाइ। यो नै सबैभन्दा पूण्य हो। जसले त्यो आँखालाई सहि रुपमा अरुलाई प्रत्यारोपण गर्नुभाछ उहाँहरु यो धर्तीको वास्तविक भगवान नै हो। मलाई आज एकदमै खुशी लागेको छ यस्तो पूण्य कार्यक्रममा बोलाउनुभएकोमा।’
प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले २५ वर्षअघि एक जनाबाट सुरु गरिएको आँखा दान कार्यक्रममा अहिले हजारौँभन्दा बढी सहभागि हुनु खुशीको कुरा भएको बताए।
‘आँखा बैंकको टिमले शुरुदेखि मिहिनेत गरेर यहाँसम्म ल्याइपुर्याएको छ। अहिलेको स्थितीमा नेपालभरिनै केही मात्रामा पुग्ने आँखा दिन सकेका छौँ,’ उनले भने, ‘हामीले बारम्बार भन्दै आएका छौ आँखादान भन्ने बित्तिकै आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी मात्र झिक्ने हो । यसमा धार्मिक, सांस्कृतिक रुपमा अफ्ठेरो केही पनि हुदैन । मृत्युपश्चात झिक्ने हो।’
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङ्गले धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको बताइन्।
सभामा पशुपति विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल, वीर अस्पतालका निर्देशक डा केदार प्रसाद सेन्चुरी, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा प्रमोद कुमार यादव, समाजसेवी तथा ३ नंं. प्रदेशका प्रान्तिय सदस्य नरोत्तम वैद्य, बिपी नेत्र अध्ययन प्रतिष्ठान शिक्षण अस्पताल महाराजगंजका कर्निया विभाग प्रमुख डा मिनु चौधरी, लायन्स क्लब अफ काठमाडौं पशुपतिनाथका अध्यक्ष डा पवन शर्मा, नेपाल आँखा दान समाजका अध्यक्ष साधुराम महर्जनले आफ्ना मन्तव्य राखेका थिए।

