काठमाडौं- नेपालमा प्रयोग हुने अत्यावश्यक औषधिको जानकारी अब मोबाइल एपमा हेर्न सकिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागले नेपाल सरकारले सूचीकृत गरेका ३९२ प्रकारका औषधि र त्यसको जानकारी मोबाइलमा हेर्न सकिने गरी एप तयार पारेको छ।
साथै विभागले ३९२ प्रकारका औषधि र तिनको विस्तृत जानकारी समेटिएको ‘नेप्लिज नेसनल फमुलरी’ सन्दर्भ सामग्री पुस्तिकाको तेस्रो संस्करण समेत सार्वजनिक गरेको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सो एपको उद्घाटन गरे। यद्यपि सो एप पुस १७ गतेदेखि मात्र मोबाइलमा इन्स्टल गरेर हेर्न सकिने बताइएको छ।
विभागले सो एप विशेषगरी चिकित्सक र फार्मेसिष्टका लागि सहयोगी हुने बताएको छ।
एपमा औषधिको वैज्ञानिक नाम, त्यसको काम, साइडइफेक्ट्स, अन्य औषधि प्रयोग गरिरहेको बिरामी नयाँ औषधि प्रयोग गर्दा हुने असर लगायतका बारेमा पनि जानकारी राखिएको विभागले जनाएको छ।
मन्त्री ढकालले सो एपबारे भएका जानकारी, कसरी हेर्ने, प्रयोग गर्ने भन्नेबारे गाउँगाउँमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई तालिम दिनु आवश्यक भएको बताए।
‘अर्को कुरा अस्पतालभित्र सरकारी फार्मेसी कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समस्या देखेको छु,’ उनले भने।
उनले चिकित्सकले बिरामीलाई औषधि लेख्दा अस्पतालको फार्मेसीमा भएको औषधि नलेखी बाहिरका क्लिनिकमा उपलब्ध औषधि लेख्ने गुनासो आफूकहाँ धेरै आएको बताए।
उनले भने, ‘क्लिनिकसँग राम्रो मित्रताका कारण सरकारी अस्पतालको फार्मेसीमा भएको र बिरामीको आवश्कताभन्दा बढी औषधि लेखी डाक्टरहरुले बाहिरको औषधि लेख्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्छ।’
मन्त्रालयमा आएको छोटो समयको अनुभव तितो भएको भन्दै उनले भने, ‘यहाँ आएपछि मुख्यगरी अस्पतालजन्य उपकरण, औषधि र कर्मचारी सरुवा हेरफेर गर्ने प्रवृत्तिमा कसरी सुधार गर्ने भन्ने विषयले धेरै चिन्तित छु।’
स्वास्थ्य सचिव खगराज बरालले चिकित्सकले लेखेको औषधिको नाम औषधि बेच्नेले मात्र बुझ्ने तर किन्नेले नबुझ्ने अवस्था रहेको बताए।
उनले भने, ‘कतिपय अवस्थामा बेच्नेले समेत डाक्टरले लेखेको औषधिको नाम नबुझ्दा फरक औषधि पनि ल्याएको देखेको छु। यस्ता विषयलाई कसरी कम गर्ने भन्नेबारे पनि सोच्नुपर्छ। सबैले बुझ्ने भाषामा लेखिदिने सही औषधिको प्रयोग हुन्थ्यो।’
औषधि व्यवस्था विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले एपलाई अझ परिमार्जन गरी औषधिको नामसँगै औषधिको चित्र, मूल्य, दर्ता भएका ब्राण्डलगायत पनि राख्ने दीर्घकालीन योजना भएको सुनाए।
सो एपले सबै नेपालमा प्रयोग हुने अत्यावश्यक औषधि, त्यसको उपलब्धताबारे जानकारी लिन सकिने बताइएको छ।