भैरहवा – रुपन्देहीको मायादेवी गाउँपालिकाले बच्चाको स्वास्थ्य परीक्षण गरेपछि मात्र खोप सेवा सुरु गरेको छ। नेपालमै पहिलो पटक मायादेवी गाउँपालिकाले बच्चाको स्वास्थ्य परिक्षण सहित खोप सेवा शुरु गरेको दावी गरेको छ।
खोप लगाएपछि कुनै बच्चामा थप जटिल समस्या नदेखियोस् र खोपका विषयमा गलत सन्देश नजाओस् भन्ने उद्धेश्यले स्वास्थ्य परिक्षण पछि मात्र खोप लगाउने कार्यको थालनी गरिएको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य परिक्षण गर्दा कुनै बच्चा बिरामी भएको पाइएमा बच्चालाई सो दिन खोप नलगाइ बच्चाको समस्या निको भएपछि मात्र खोप लगाउने परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठले बताए। उनले बिगतमा खोप लगाएपछि बच्चाको मृत्यु भएका घटना रहेको उल्लेख गर्दै यस्ता घटना नदोहोरिउन भन्नका लागि स्वास्थ्य परिक्षण सहित खोप लगाउने कार्यको थालनी शुरु गरिएको बताए।
अधिकृत श्रेष्ठले खोप लगाउनु भन्दा पहिला गरिने स्वास्थ्य परीक्षणले तत्कालै त्यो बच्चालाई खोप लगाउन उपयुक्त छ/छैन भन्ने कुरा सजिलै थाहा पाउन सकिने बताए।
गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खोप लगाउनुपूर्व बालबालिकाको स्वास्थ्य परीक्षण अनिवार्य गर्न तालिम दिइएको स्वास्थ्य संयोजक भास्कर आत्रेयले बताए।
गाउँपालिकामा १७ वटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ। सरकारको निःशुल्क खोप कार्यक्रम अन्तर्गत २ वर्ष मुनीका बालबालिकालाई विभिन्न ११ प्रकारका रोगविरुद्धको खोप लगाइने गरिन्छ।
बच्चा जन्मेपछि उनीहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने कुरालाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षणसहित खोप सेवा सुरु गरिएको मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले बताए। उनले खोप केन्द्रलाई अनुगमन गरी गाउँपालिकाले सुरु गरेको अभियानलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुलाई आग्रह गरे।
सेवाको सोमबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको छ। सो अवसरमा बोल्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले आगामी दिनमा यस्ता कार्यक्रम रुपन्देहीका अन्य स्थानीय तहले शुभारम्भ गर्ने विश्वास व्यक्त गरे।
उनले स्वास्थ्य क्षेत्रको विकासको लागि गाउँपालिकासंग सहकार्य गरेर प्रदेश सरकारमार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै प्रदेशसभा सदस्य अष्टभुजा पाठकले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर स्थानीय तहले आफ्नो कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा खोप समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले खोपले रोगबाट बचाउने र अझ खोप लाग्नु भन्दा पहिले नै गरिने स्वास्थ्य परीक्षण झनै महत्वपूर्ण रहेको बताए।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले मायादेवीको राम्रो कामबाट अरुले पनि सिक्न आवश्यक रहेकोमा जोड दिए।
प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद कुमार गिरीले सबै बालबालिकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने बताए।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरीले मायादेवी गाउँपालिकाले सुरुवात गरेको कार्यक्रमले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने बताए।
कञ्चन गाउँपालिकाका स्वास्थ्य संयोजक राम प्रसाद गौतमले बच्चाको स्वास्थ्य परीक्षण गरेर खोप लगाइए जोखिम न्यूनीकरण गर्न सकिने बताए।
स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा, मायादेवी गाउँपालिकाका पूर्व स्वास्थ्य संयोजक गणेश भण्डारी लगायतले बोल्दै स्वास्थ्य क्षेत्रमा नौलो कार्यको थालनी भएको बताए।