मुख्य समाचार

३ दशमलव ३ प्रतिशत नेपालीले मात्र खान्छन् मापदन्डअनुसार फलफूल र तरकारी (कुन प्रदेशमा कति?)

तर, चुरोट तथा सुर्तिजन्य पदार्थ २९ र मदिरा २८ प्रतिशतले सेवन गर्छन्

काठमाडौं– विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसार एक व्यक्तिले एक दिनमा ५ सर्भिङ अर्थात् ४ सय ग्राम फलफूल तथा तरकारी खानुपर्छ। एक सर्भिङ बराबर ८० ग्राम फलफूल र तरकारी हुन्छ। 

तर, हालै मात्र सार्वजनिक गरिएको एक सर्वेक्षणको प्रतिवेदन अनुसार जम्मा ३ दशमलव ३ प्रतिशत नेपालीले मात्र मापदन्डअनुसार फलफूल र तरकारी खाने गरेको देखाएको छ।नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वे) ले मानव स्वास्थ्यका लागि फाइदाजनक फलफूल र तरकारी खाने नेपाली कम र स्वास्थ्यलाई हानी गर्ने जंक फुड,  चुरोट तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन गर्ने निकै बढी रहेको देखाएको हो।

‘९६ दशमलव ७ प्रतिशत नेपालीले औसतमा १ दिनमा ५ सर्भिङभन्दा थोरै फलफूल र तरकारी खाने गरेका छन्,’ सर्वेक्षण प्रतिवेदनमा भनिएको छ, 'तर स्वास्थ्यलाई हानी गर्ने चुरोट तथा सुर्तिजन्य पदार्थ २८ दशमलव ९ र मदिरा २८ प्रतिशले सेवन गर्ने गरेको भेटिएको छ।'

यही कारण पछिल्लो समय नेपालमा मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप, क्यान्सर जस्ता घातक रोगीको संख्या समेत बढीरहेको प्रतिवेदनमा उल्लेख छ। 

रोगको भार बढेसँगै नेपालमा यी रोगका कारण हुने मृत्युदर समेत बढेको छ। नेपालमा हाल ६६ प्रतिशतको मृत्यु नसर्ने रोगहरुबाट र ९ प्रतिशतको मृत्यु चोटपटकबाट भएको छ। बाँकी २५ प्रतिशतको मृत्यु भने सरुवा रोग, मातृ तथा नवजात शिशु तथा पोषणसम्बन्धी रोगबाट भएको छ।

मापदन्डअनुसार फलफूल र तरकारी खानेमा पुरुष ३ र महिला ३ दशमलव ७ प्रतिशत रहेको छ। सर्वेक्षणअनुसार एक दिनमा औसतमा नेपालीले २ सर्भिङ अर्थात् १ सय ६० ग्राम मात्र फलफूल र तरकारी खान्छन्।

प्रदेशअनुसार हेर्ने हो भने सबैभन्दा धेरै प्रदेश २ का नागरिकले फलफूल र तरकारी खाने गर्छन्। प्रदेश २ का नागरिकले औसतमा दैनिक २ दशमलव ३ सर्भिङ फलफूल र तरकारी खाने गर्छन्। त्यसपछि प्रदेश ५, प्रदेश ३ र प्रदेश १ मा औसतमा २ सर्भिङ, कर्णाली र गण्डकी प्रदेशमा १ दशमलव ९ र सुदूरपश्चिम प्रदेशमा १ दशमलव ६ सर्भिङ फलफूल र तरकारी खाने गर्छन्।

जंक फुड खाने झन्डै २० प्रतिशत
सर्वेक्षणअनुसार जंक फुड वा नुन बढी मात्रामा हालिएको तयारी खानेकुरा खाने १९ दशमलव ५ प्रतिशत रहेका छन्। यस्ता खानेकुरा महिलाभन्दा पुरुषले बढी खाने गरेको पनि सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार २१ दशमलव १ प्रतिशत पुरुष र १८ दशमलव १ प्रतिशत महिलाले यस्ता खानेकुरा खान्छन् । यस्तै, खाना खानुअघि वा खाइरहँदा नुन वा नुनिलो सस सधैं वा प्रायः थपेर खानेको प्रतिशत ९ दशमलव ८ रहेको छ।

यसैगरी, सर्वेक्षणले मदिरा सेवन गर्नेको पनि प्रतिशत निकालेको छ। जसअनुसार नेपालका २८ प्रतिशतले मदिरा सेवन गर्ने गरेको पाइएको छ। सर्वेक्षण प्रतिवेदनअनुसार ७२ दशमलव २ प्रतिशतले जीवनमा कहिले पनि मदिरा सेवन गरेका छैनन्। मदिरा सेवन गर्नेमा महिलाभन्दा पुरुष अगाडि रहेका छन्। ४४ प्रतिशत पुरुषले मदिरा सेवन गर्छन् भने १४ दशमलव ५ प्रतिशत महिलाले मदिरा सेवन गर्छन्।

महिलाको तुलनमा ५ गुणा बढी पुरुष अम्मली

 नेपालका २८ दशमलव ९ प्रतिशत नागरिकले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणले महिलाको तुलनामा पुरुषहरु ५ गुणाभन्दा बढी अम्मली रहेको पनि देखाएको छ। सर्वेक्षण अनुसार नेपालका ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्छन्।

सर्वेक्षण अनुसार चुरोट र सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या सबैभन्दा बढी प्रदेश ५ मा रहेको छ। प्रदेश ५ का ३६ दशमलव ६ प्रतिशतले चुरोट तथा सुर्ति सेवन गर्ने गरेका छन्।

चुरोटको तुलनामा धुँवारहित अन्य सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या बढी रहेको सर्वेक्षणले देखाएको छ। चुरोट सेवन गर्ने १४ दशमलव ५ प्रतिशत रहेका छन् भने धुँवारहित सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या  १८ दशमलव ३ प्रतिशत रहेको छ।

चरोट तथा सुर्तिजन्य पदार्थ मुटु, मधुमेह, रक्तचाप, क्यान्सर जस्ता नसर्ने रोगको प्रमुख कारण हो। चिकित्सिकले दीर्घकालिन रोगका प्रमुख कारण भएकाले यस्ता पदार्थ सेवन नगर्न सुझाब दिने गरेका छन्।

कुन प्रदेशमा कति?
प्रदेश १ – २२ दशमलव ८ प्रतिशत
प्रदेश २ – २९ दशमलव ७ प्रतिशत
प्रदेश ३ – २२ दशमलव २ प्रतिशत
गण्डकी प्रदेश – २५ दशमलव ९ प्रतिशत
प्रदेश ५ – ३६ दशमलव ६ प्रतिशत
कर्णाली प्रदेश – २९ दशमलव ७ प्रतिशत
सुदूरपश्चिम प्रदेश – ३३ दशमलव ८ प्रतिशत

विद्युतीय चुरोट प्रयोग गर्ने बढे

सर्वेक्षण अनुसार नेपालमा विद्युतीय चुरोट प्रयोग गर्नेको संख्या बढेको छ। विगतमा यस्ता चुरोट प्रयोग गर्नेको संख्या नगन्य हुन्थ्यो। तर, अहिले सर्वेक्षणले झण्डै २ प्रतिशत पुरुषले विद्युतीय चुरोट प्रयोग गर्ने गरेको देखाएको छ। सर्वेक्षण अनुसार १ दशमलव ७ प्रतिशत पुरुषले विद्युतीय चुरोट प्रयोग गर्ने गरेका छन्। भारत, चीन तथा धेरै देशले विद्युतीय चुरोट प्रतिबन्ध लगाइसकेका छन्। नेपालले पनि सन् २०१४ मा यस्ता चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ। तर, उक्त निर्णय भने अझैसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन।

मोटोपन समस्या
शारीरिक परिश्रमको कमी, असन्तुलित खानपान, व्यायामको कमी, जंकफुडको प्रयोग लगायतका कारण नेपालमा मोटोपनको समस्या बढ्दै गएको पनि सर्वेक्षणले देखाएको छ। अधिक वजन र मोटोपनका विषयमा पनि गरिएको सर्वेक्षणअनुसार यो समस्या सबैभन्दा धेरै प्रदेश ३ मा रहेको छ।

प्रदेश ३ का ४२ दशमलव ६ प्रतिशत जनतामा अधिक वजन तथा मोटोपन देखिएको छ। मोटोपनको समस्या हुनेमा दोस्रो स्थानमा गण्डकी प्रदेश छ। त्यहाँका ३४ दशमलव ६ प्रतिशत मानिसमा मोटोपन तथा अधिक वजन रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। त्यसपछि क्रमशः प्रदेश १ का २२ दशमलव ३, प्रदेश २ का १९ दशमलव ९, प्रदेश ५ का १९ दशमलव ५, कर्णाली प्रदेशका १२ दशमलव ३ र सुदूरपश्चिमका १२ दशमलव २ प्रतिशतमा मोटोपनको समस्या छ।

चिकित्सकका अनुसार मोटोपन भएका व्यक्तिमा विभिन्न रोगको जोखिम उच्च हुन्छ । मोटोपन भएका धेरैजसो मानिसमा उच्च रक्तचाप, कोलेस्टेरोल, युरिक एसिड बढी हुनुका साथै मधुमेहजस्ता दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन्छन्। मोटोपन भएका मानिसमा मुटुरोगको जोखिम उच्च हुन्छ।

सर्वेक्षणका क्रममा नसर्ने रोगको जोखिममा रहेकाहरुको शारीरिक क्रियाकलापका विषयमा पनि अध्ययन भएको थियो। जसअनुसार शारीरिक क्रियाकलाप नगर्नेको संख्या पाँच वर्षअघिको तुलनामा बढेको पाइएको छ। पाँच वर्षअघि जोखिममा रहेका तर पनि निष्क्रिय जीवन जिउने ६ दशमलव ५ रहेको थियो। अहिले यो संख्या बढेर ७ दशमलव ६ प्रतिशत पुगेको छ। 

स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झा नेपालमा धेरै खाने र अल्छी भएर बस्नेको संख्या बढ्नु निकै चिन्ताजनक भएको बताउँछन्। ‘हाम्रो सर्वेक्षणले बसीबसी खानेको संख्या बढ्दै गएको देखाएको छ,’ उनले भने, ‘यो भनेको नसर्ने रोगको भार बढ्दै जानु हो। यसले त अबको पुस्ता नै रोगी हुने चिन्ता थपिदिएको छ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम तत्वको अध्ययनका लागि नेपालीको खानपान र बानीव्यहोरासम्बन्धी सर्वेक्षण गरेको हो। सर्वेक्षणका क्रममा परिषद्ले सूर्तिजन्य पदार्थ र मदिरा सेवन, दैनिक आहार, शारीरिक क्रियाकलाप, स्वास्थ्य जाँच, रगत जाँच लगायतका विवरण संकलन गरेको थियो। 

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा परिषद्ले गरेको सर्वेक्षणमा देशभरका १५ देखि ६९ वर्ष उमेरका मानिसहरुसँग विवरण संकलन गरिएको थियो। सर्वेक्षणमा ५ हजार ५ सय ९३ जनाको नमुना संकलन गरिएको थियो। यस्तो सर्वे हरेक ५ वर्षको अन्तरालमा गरिन्छ। सर्वेक्षण गत फेब्रुअरीदेखि मे सम्म गरिएको थियो।

गम्भिर टाउको दुख्ने समस्याका कारण १५ प्रतिशत नेपालीको काममा बाधा

सर्वेक्षण प्रतिवेदन अनुसार टाउकाको गम्भिर दुखाइका कारण १५ दशमलव २ प्रतिशत नेपालीको काममा समस्या पर्ने गरेको छ। 

‘गम्भिर रुपमा टाउको दुख्ने समस्या भएका कारणले गर्दा १५ दशमलव २ प्रतिशतले घरायसी काम गर्न अथवा काममा जान समस्या पर्ने गरेको छ,’ प्रतिवेदनमा भनिएको छ।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वे)ले उक्त तथ्यांक देखाएको हो। 

सर्वेक्षण अनुसार गम्भिर खालको टाउको दुखाइको समस्या पुरुषको तुलनामा महिलामा झण्डै दोब्बर रहेको छ। सर्वेक्षण प्रतिवेदन अनुसार १० दशमलव ७ प्रतिशत पुरुषमा यस्तो समस्या हुँदा १९ दशमलव २ प्रतिशत महिलामा यस्तो समस्या हुने गरेको छ।

सर्वेक्षण देशभरका १५ देखि ६९ वर्ष उमेरका ५ हजार ५ सय ९३ जनसंख्यामा गरिएको थियो। यस्तो सर्वे हरेक ५ वर्षको अन्तरालमा गरिन्छ। सर्वेक्षण गत फेब्रुअरीदेखि मे सम्म गरिएको थियो।

टाउको दुखाइका कारण काममा बाधा पुग्ने समस्या सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको छ। सुदूरपश्चिमका २३ दशमलव ४ प्रतिशतमा यस्तो समस्या भेटिएको थियो। त्यसपछि यो समस्या कर्णाली प्रदेशमा रहेको छ। कर्णालीका २२ दशमलव ७ प्रतिशतमा समस्या भेटिएको प्रतिवेदनमा उल्लेख छ।

कर्णालीपछि क्रमश: प्रदेश ५ मा १७ दशमलव २, प्रदेश ३ मा १३ दशमलव ८, गण्डकी प्रदेशमा १२ दशमलव ९, प्रदेश १ मा १२ दशमलव २ र प्रदेश २ मा १० दशमलव ९ मा यस्तो समस्या भेटिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने