जनकपुर अस्पताल अनुगमनका क्रममा मुख्यमन्त्री राउतसहितको टोली। तस्बिर : स्वास्थ्यखबर
जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर प्रादेशिक अस्पताल नमुना अस्पताल बनाउने गरी कार्ययोजना तयार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री राउतको टोली अस्पतालको अनुगमन गर्दै यस्तो निर्देशन दिएका हुन्। समाजिक विकास मन्त्री नवल किशोर साह, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश मुख्य सचिव रामकृष्ण सुवेदी, समाजिक विकास मन्त्रालयका सचिव भरत सुवेदीसहितको टोली लिएर अस्पताल पुगेका मुख्यमन्त्री राउतले अस्पतालको सरसफाइमा सुधार भएको भन्दै खुशी व्यक्त गरेका थिए।
अनुगमनपछि अस्पताल प्रशासनसँग कुराकानी गर्दै मुख्यमन्त्री राउतले भने, ‘यो अस्पताल प्रदेशकै गौरव हो, यसमाथि जनताको विश्वासलाई बढाउन के के गर्न सकिन्छ, तत्कालिक, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुस प्रदेश सरकार सहयोग गर्न तयार छ। सो अनुसार तपाईंहरू अघि बढ्नुहोस्।’
प्रदेश सरकारले अस्पताललाई प्राधिकरणमा लैजाने तयारी थालेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसै अनुरुप उपचार सेवालाई गुणस्तरीय बनाउन समेत निर्देशन दिए।
अस्पतालमा देखिएको जनशक्ति अभावलाई समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको उनले बताए। अस्पतालमा मुख्यमन्त्री राउत, समाजिक विकास मन्त्री साह र मुख्य न्यायाधिवक्ता झाले स्वास्थ्य जाँचसमेत गराएका थिए।
