काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सहसचिवमा शिवराम न्यौपानेको सरुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेसहित ८ जना सहसचिवको सरुवा गरेको हो।
न्यौपानेलाई स्वास्थ्यबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
स्वास्थ्यमा नयाँ मन्त्रीका रुपमा भानुभक्त ढकाल आएपछि उनी सरुवा हुनेको पहिलो सूचीमा थिए।
न्यौपाने गत साउनमा स्वास्थ्यमा आएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीमा प्रमुखका रुपमा कार्यरत न्यौपानेलाई स्वास्थ्यमा ल्याइएको थियो।
स्वास्थ्यमा प्रशासन तर्फका दुई सहसचिवको पद रहेको छ। प्रशासन र जनसंख्या महाशाखामध्ये मन्त्रालयमा जनसंख्या महाशाखा लामो समयदेखि खाली थियो।
सरकारले एक साता अघि मात्र सहसचिव रघुराम विष्टलाई स्वास्थ्यमा ल्याएको छ।
स्रोतका अनुसार विष्टलाई प्रशासन महाशाखाको जिम्मेवारी दिने तयारी भएको छ। न्यौपानेको सरुवापछि स्वास्थ्यमा फेरि अर्को सहसचिव पद रिक्त भएको छ।