उदयपुर- उदयपुरस्थित कटारी अस्पतालले एक सुत्केरीलाई स्वास्थ्यसम्बन्धी सामग्री प्रदान गरेको छ। कटारी नगरपालिका-५ भूल्केकी ९ दिनकी सुत्केरी २८ वर्षीया चमेली तामाङको अवस्था दयनीय भएको समाचार सञ्चारमाध्यममा आएपछि कटारी अस्पतालले स्वास्थ्य सामग्री प्रदान गरेको हो।
अस्पतालका डा. अमितेशराज पाण्डेको नेतृत्वमा गएको टोलीले शनिबार तामाङको छाप्रोमै पुगेर कपडासहितका सामग्री प्रदान गरेको हो। टोलीमा स्टाफ नर्स निर्मला पाण्डे, जनस्वास्थ्य निरीक्षक ईशरायल राईन पनि सहभागी थिए। 'बच्चा र आमाको स्वास्थ्य परीक्षण गरी न्यानो झोला र औषधिलगायतका सामग्री प्रदान गरेका हौं। सुत्केरीको अवस्था दयनीय देखेपछि सहयोग नगरी बस्न सकेनौं,’ डा. पाण्डेले भने, ‘यो हाम्रो काम र कर्तव्य नै हो।’ हाल बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।
तामाङले गर्भवती हुँदासमेत स्वास्थ्य जाँच नगराएको र आइरन चक्कीलगायतका औषधिसमेत नखाएको थाहा पाएपछि अस्पतालको टोलीले आवश्यक स्वास्थ्य जाँच गरी क्याल्सियम, आइरन चक्की प्रदान गरेको थियो। उनीहरुले तामाङको स्वास्थ्य अवस्था जाँच गर्नुका साथै बच्चाको पनि स्वास्थ्य अवस्था जाँच गरेर औषधि दिएका हुन्।
९ दिनअघि शिशु जन्माएकी तामाङको आर्थिक अवस्था कमजोर भएकाले खाने/लाउने र ओढ्ने/ओछ्याउनेसमेत अभाव भएको सार्वजनिक भएको थियो।
सुत्केरी तामाङलाई शुक्रबार नै कटारी नगरपालिकाको तर्फबाट उपमेयर भीमकुमारी राउतले नगद २५ हजार रुपैयाँ नगद सहयोग गरेकी थिइन्। साँघुरो चिसो छाप्रोमा रहेकी सुत्केरीको अवस्था दयनीय भएपछी रेडक्रस शाखाले समेत आवश्यक भाँडाकुँडा र त्रिपाल सहयोग गरेको रेडक्रस उपशाखा उदयपुरका प्रकाश खड्काले बताए।
पहिलो छोरी जन्मिदाँ समेत स्थानीयले सहयोग उठाएर सुत्केरी बचाएको स्थानीय स्वास्थ्य स्वयंसेविका शकिला मुखिया सुनुवारले बताइन्। उनकी पहिली छोरी हाल अढाइ वर्षकी छन्।
ओखलढुंगा सिस्नेरीका मानबहादुर जर्गामगरसँग विवाहा गरेकी उनी आर्थिक अवस्थाकै कारण माइत कटारी बस्दै आएकी छन्। श्रीमान् सुस्त मनस्थितिका रहेका र आर्थिक अवस्थासमेत कमजोर भएको सुत्केरी तामाङले बताएकी छन्।
कटारी अस्पतालमा भर्खरै आएका डा. अमितेशराज पाण्डेले सुत्केरीको अवस्था गम्भीर भन्ने जानकारी पाएपछि आफैंले सोधपुछ गरी सुत्केरी भएको ठाउँसम्म पुगेका हुन्।