काठमाडौं- स्वास्थ्य मन्त्रालयले सुरक्षित मातृत्वकाे क्षेत्रमा काम गरेका स्टाफ नर्सलाई प्रवीणता प्रमाणपत्र तह मिडवाइफमा रुपान्तरण गर्ने तयारी सुरु गरेको छ।
सुरक्षित मातृत्व र नवजात शिशु मृत्युदर कम गर्दै सीपयुक्त प्रसुतिकर्मी तयार गर्न तत्कालका लागि प्रसुति वार्ड तथा विभागमा काम गरेका स्टाफ नर्सलाई एक वर्षे मिडवाइफ्री तालिम दिई मिडवाइफमा रुपान्तरण गर्ने तयारी गरेको हो।
त्यसका लागि स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सम्भाव्यता अध्ययन समेत गरेको छ।
महाशाखाले सोक्रममा मिडवाइफ्री कार्यक्रम सञ्चालन गराइरहेका शैक्षिक संस्था, प्राध्यापक, प्रसुतिरोग विशेषज्ञ, स्टाफ नर्स, हाल अध्ययनरत मिडवाइफहरुसँग छलफल गरेको थियो। साथै धेरै सुत्केरी हुने अस्पतालहरुको राय समेत लिएको थियो।
महाशाखाले मन्त्रालय र सम्बन्धित सरोकारवालासँग अध्ययनमा आएका सुझावबारे छलफल गरेको छ। सो अध्ययनमा धेरै स्टाफ नर्सले मिडवाइफ्रीबारे सुनेपनि त्यसबारे नबुझेको बताएका छन्।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रोशनी तुइतुइले प्रसुति विभागमा लामो समय काम गरेका नर्सले मिडवाइफ्री अध्ययन गर्ने कुरालाई सकारात्मक रुपमा लिएपनि त्यसपछि के हुने भन्ने जिज्ञासा राखेको बताइन्।
उनीहरुले सो एकवर्षे अध्ययन छात्रवृत्तिमा हुने कि, तलबी बिदा हुन्छ कि हुँदैन, नर्सिङ परिषदमा दर्ता हुने प्रक्रिया के हुने, त्यसपछि सरकारी दरबन्दी सिर्जना हुन्छ वा हुँदैन भन्ने प्रश्न पनि राखेको तुइतुईले जानकारी दिइन्।
‘सुरक्षित मातृत्व क्षेत्रमा काम गरिरहेका स्टाफ नर्सलाई मिडवाइफमा रुपान्तरण गर्ने अन्तराष्ट्रिय अभ्यास पनि छ। सोही अनुसार मन्त्रालयले एकवर्षे कोर्ष गराउने सोच बनाएको हो’, उनले भनिन्।
नेपालमा स्टाफ नर्स पढाइ हुँदा सैद्धान्तिक कोर्स राम्रो हुने भएपनि क्लिनिकल तर्फ कमजोर हुने गरेको गुनासो सो अध्ययनका क्रममा देखिएको छ। त्यसका लागि पाठ्यक्रम बनाउने प्रक्रिया बाँकी नै छ।
नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्राध्यापक गोमादेवी निरौलाले राष्ट्रले पछिल्लो समय मिडवाइफ्रीको महत्व मनन गर्दै अध्यापन थालेपछि उनीहरुको उचित व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रष्ट हुनुपर्ने बताइन्।
उनले एकवर्षे कोर्ष पुरा गरी रुपान्तरित मिडवाइफहरुलाई काउन्सिलको प्रक्रिया अनुसार परीक्षा लिएर पिसिएल मिडवाइफको रुपमा दर्ता गर्न सकिने पनि बताइन्।
परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका प्रमुख डा जागेश्वर गौतमले प्रसुति विशेषज्ञ र मिडवाइफ्रीलाई तुलना गर्न नमिल्ने बताए।
मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष डा लक्ष्मी तामाङले त्यसरी उत्पादित मिडवाइफलाई अन्यत्र सरुवा गर्दा पनि प्रसुति विभागमै सरुवा गर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताइन्।
सरोकारवालाले अहिले अध्ययन गरी काम गर्न तयार भएका स्नातक मिडवाइफहरुलाई समेत अध्यापनमा प्रयोग गर्न सकिने सम्भावना रहेको बताएका छन्।
सरकारले मातृशिशु मृत्युदर कम गर्दै दीगो विकास लक्ष्य हासिल गर्न सीपयुक्त प्रसुतिकर्मी आवश्यक भएको भन्दै तीन वर्षअघि स्नातक तहको मिडवाइफ्री कार्यक्रम सुरु गरेको थियो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), काठमाडौँ विश्व विद्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो कार्यक्रम सुरु गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयले सो कार्यक्रम प्रविणता प्रमाणपत्र तहमै समेत सुरु गर्ने योजना बनाएको अनुरुप तत्कालका लागि रुपान्तरणको बाटो अपनाउन लागेको हो।
नर्सिङ महाशाखाले गरेको सो सम्भाब्यता अध्ययनमा तत्कालका लागि करिब १७ हजार ६ सय १६ जना स्टाफ नर्सलाई एकवर्षे मिडवाइफ्री कोर्स दिन आवश्यक रहेको देखिएको छ।