काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नै जिम्मेवारी दिएको छ। विभागबाट काजमा मन्त्रालय तानिएका ढकाललाई मंगलबार पुनः विभागकै जिम्मेवारीमा फर्काउने निर्णय भएको हो।
मन्त्रालय स्रोतका अनुसार ढकाललाई जिम्मेवारी दिने विषयमा निर्णय भइ पत्र समेत तयार भइसकेको छ। सम्भवत उनले बुधबार पत्र पाउने छन्।
ढकाललाई तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विभागबाट राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरेका थिए। ढकालको स्थानमा विभागकै १० औं तहका कर्मचारी पानबहादुर क्षेत्रीलाई विभागिय प्रमुखको जिम्मेवारी दिइएको थियो।
ढकालले प्रयोगशालामा नजाने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चबाट अन्तरिम आदेश पाएपछि ढकालले पुन विभागिय प्रमुखको जिम्मा पाएका थिए। तर, उनलाई मन्त्रालयमा काजमा तानिएको थियो।
मन्त्रालयमा दरबन्दी नै नभए पनि काजमा तानेर लामो समयदेखि जिम्मेवारी विहिन बनाइएको थियो।
११ औं तहका कर्मचारीलाई दरबन्दी नै नभएको ठाउँमा काजमा ल्याएपछि हालका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले काजमा राख्नु उचित नहुनेभन्दै विभागको महानिर्देशकका रुपमा पुरानै जिम्मेवारीमा फर्काउने निर्णय गरेका हुन्।