डा श्रीकृष्ण गिरी र दुर्गा प्रसाई
काठमाडौं- झापाको बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका छन्।
मेडिकल कलेज सञ्चालका लागि प्रक्रिया अगाडि बढाएका प्रसाईंले पत्रकार सम्मेलन गर्दै डा गिरीले आफूलाई होटलमा बोलाएर २० करोड रुपैयाँ माग गरेको आरोप लगाएका हुन्।
‘उहाँले मलाई द्वारिका होटलमा बोलाएर २० करोड रुपैयाँ माग गर्नु भयो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘बिएण्डसीलाई सम्बन्धन दिनुपर्ने निवेदन लिएर म मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा पुगेका थिएँ। त्यही दिन साँझ उहाँले मलाई द्वारिका होटलमा बोलाएर पैसा माग्नु भयो।’
उनले २० करोड रुपैयाँ दिन नसक्ने बताएपछि डा गिरीले आफ्नो निवेदन समेत दर्ता नगरेको आरोप लगाए।
डा गिरीले आफूमाथि प्रसाईंले गलत आरोप लगाएको बताए। ‘उहाँले मेरो चरित्र हत्या गर्न खोज्नु भयो,’ डा गिरीले भने, ‘मैले उहाँसँग कुनै पनि रकम माग गरेको छैन। यो विषयमा म अहिले ४ बजे पत्रकार सम्मेलन गरेर आफ्ना सबै धारणा सार्वजनिक गर्दैछु।’