नेपालगञ्ज- राष्ट्रिय क्षयरोग केन्द्रले बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडिआर टिबी) का बिरामीलाई उनीहरुको घर नजिकै रहेको स्वास्थ्य संस्थाबाट नै औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ। केन्द्रले दामियन फाउन्डेसनको सहयोगमा यस्तो कार्यक्रम सुरु गरेको हो।
कार्यक्रमको पहिलो पटक बाँकेको खजुरा गाउँपालिकाको उढरापुर र परस्पुरबाट सुरु गरिएको छ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा सागर कुमार राजभन्डारीले एमडिआर टिबीका बिरामीहरुलाई उनीहरुको घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधि खुवाउने कार्यक्रमको सुरुवात गरेका हुन्।
बाँकेसंगै प्रदेश नं ५का अन्य जिल्लाहरु बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही, पाल्पा र नबलपरासी पश्चिमका जिल्लाहरुमा पनि यो कार्यक्रम सञ्चालन हुँदैछ।
सामान्य खालको टिबीका बिरामीहरुलाई घर नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरुको निगरानीमा औषधि खुवाउने कार्यक्रम लामो समयदेखि संचालन हुँदै आएको भए पनि कडा खालको टिबी अर्थात एमडिआर टिबीका बिरामीहरुलाई जिल्ला अस्पताल वा त्यो भन्दा बढी सुबिधा सम्पन्न अस्पतालहरुबाट मात्रै औषधि खुवाउने व्यवस्था थियो।
समान्यतया एमडिआर टिबीका बिरामीहरुले स्वास्थ्यकर्मीको निगरानीमा ९ देखि २० महिनासम्म नियमित रुपमा औषधि खानु पर्छ।
घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधि खान नपाउँदा बिरामीहरुलाई औषधि खानैका लागि हरेक दिन घरदेखि घन्टौँ टाढा रहेका अस्पतालहरुमा जानु पर्ने बाध्यता थियो।
नेपालमा एमडिआर टिबीका बिरामीहरुका लागि सन् २००५ देखि उपचारको व्यवस्था गरिँदै आएको छ। नेपालमा वार्षिक करिब ६ सय जना एमडिआरका नयाँ बिरामी भेटिए पनि ४ सय ५० बिरामीले मात्रै औषधि खाँदै आएका छन्।
एमडिआरका बिरामीहरुको उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उनीहरुको घर नजिकै औषधि खान पाउने व्यवस्था मिलाइएको दामियन फाउन्डेसन नेपालका देशिय प्रतिनिधी डा शुशिल कोइलालले बताए।