धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद् (सिनेट) सदस्यमा उद्योगी तथा व्यापारीको कोटाबाट धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) सिफारिस भएकी छिन्।
प्रतिष्ठानको ऐनमा ‘प्रतिष्ठित विद्वान, समाजसेवी, उद्योगपति तथा व्यापारी मध्येबाट कार्यकारिणी समितिको सिफारिसमा सहकुलपतिले मनोनित गरेका बढीमा दुई जना सदस्य रहने व्यवस्था छ। सोही व्यवस्थाका आधारमा उपमेयर भण्डारीलाई उपकुलपति अध्यक्ष रहने कार्यकारिणी समितिले सिफारिस गरेको हो।
प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार घुससहित अख्तियारबाट पक्राउ परेपछि शिक्षाध्यक्ष गुरुप्रसाद खनाल कार्यबाहक उपकुलपतिको जिम्मेवारीमा छन्। धरान उपमहानगरपालिकाको मेयर सिनेटको पदेन सदस्य रहने व्यवस्था ऐनमा छ।
मेयर तिलक राई सिनेट सदस्य हुँदाहुँदै राजनीतिक चलखेलमा उपमेयरलाई पनि जबरजस्ती व्यापारीको कोटाबाट सदस्य सिफारिस गरिएपछि केही सिनेट सदस्यहरुले नै असन्तुष्टि जनाएका छन्।
नाम उल्लेख गर्न नचाहने एक सिनेट सदस्यले भने, ‘उपमेयर भण्डारी न प्रतिष्ठित विद्वान हुन्, न उद्योगी व्यापारी. यस्ता व्यक्तिलाई सिफारिस गरिनु हुँदैन भनेर सदस्यहरुले आवाज उठाएका थिए तर उनी सिफारिसमा परिन्।’
उपमहानगरपालिकामा पनि विभिन्न मुद्दामा विवादमा परेकी उपमेयर भण्डारीलाई सिनेट सदस्य बनाउन नेकपाका स्थानीय नेता समेत रहेका उनका श्रीमान् मुरारी सुवेदी केही सातादेखि सक्रिय थिए। उनी आफैं पनि विवादित व्यक्ति हुन्।
स्पार्क हस्पिटल धरान लगायत धेरै व्यापारमा आवद्ध उनी औषधि व्यवसायीहरुसँग नजिक छन्। बिमा कम्पनीका एजेन्ट समेत रहेका सुवेदीले बिपी प्रतिष्ठान र धरान उपमहानगरपालिकाका कर्मचारीहरुको बिमा गराएका छन्। उनले बिपीका विद्यार्थीहरुलाई अनिवार्य आफ्नो कम्पनीमार्फत बिमा गराउने व्यवस्था गर्न प्रतिष्ठानका तत्कालीन उपकुलपति राजकुमार रौनियारलाई दबाब दिएपछि विवादमा परेका थिए। उपकुलपतिले नमानेपछि सुवेदी उनलाई प्रतिष्ठानबाट हटाउन राजनीतिक लबिङमा सक्रिय थिए। त्यही समयमा रौनियारलाई अख्तियारले घुससहित पक्राउ गरेको थियो।
प्रतिष्ठानको कार्यकारिणी समितिले उपमेयर भण्डारीसँगै मोरङका प्रदेश सांसद राजकुमार ओझालाई पनि सिफारिस गरेको छ। प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐर अहिले भण्डारी र ओझा सिफारिसमा मात्र परेको र उहाँहरुलाई सिनेट बैठकले नै अनुमोदन गर्ने अधिकार रहेको बताउँछन्।
प्रतिष्ठानको सिनेट बैठक शुक्रबार बस्दै छ। यसअघि गत कात्तिक २२ गते सिनेट बैठक बस्ने सम्पूर्ण तयारी पूरा भएपछि अघिल्लो दिन तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्थगित गरेका थिए। प्रतिष्ठानको सिनेट बैठक नबसेको डेढ वर्ष बितिसकेको छ ।
बैठक कर्मकाण्डी मात्रै हुँदै
प्रतिष्ठान यतिबेला समस्यै समस्यामा छ। सरकारको योजनामै परिसकेका अंकोलोजी, कार्डियोलोजी लगायतका भवन निर्माण हुँदाहुँदै अलपत्र छन्। प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामीको चाप थामिनसक्नु छ भने प्रसूति विभागमा ठाउँ नहुँदा सुत्केरी र बच्चाले राम्रो उपचार पाउन सकेका छैनन्। कतिले बाहिरै बच्चा जन्माएका घटना समेत सार्वजनिक भएका थिए। तर प्रतिष्ठानका यी लगायतका महत्वपूर्ण विषयले बैठकमा प्रवेश नपाउने भएका छन्।
सिनेट सदस्यहरुका अनुसार बैठक प्रस्तावमा तलब, छनोट समिति जस्ता कर्मकान्डी योजना मात्र छन्। प्रतिष्ठान उपकुलपति र रजिष्ट्रार बिहीन छ। उपकुलपति रौनियार घुस रकमसहित पक्राउ परेका थिए भने रजिष्ट्रार तुलबहादुर श्रेष्ठ आर्थिक अनियमितामा निलम्वनमा परेका छन्।