काठमाडौं— सरकारले स्वास्थ्य सचिव डा पुष्पा चौधरीको राजिनामा अन्ततः स्वीकृत गरेको छ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले डा चौधरीको राजिनामा स्वीकृत गरेको हो।
डा चौधरी राजिनामा बुझाएपछि विश्व स्वास्थ्य संगठन भारतमा जागिर खान गएकी छिन्। राजिनामा स्विकृत नहुँदा उनलाई समस्या परेको थियो।
यसअघि सरकारले उनको राजिनामा अस्वीकृत गरको थियो। त्यसपछि उनले राजिनामा स्वीकृतिका लागि सहजीकरण गरिदिन अनुरोध गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमक्ष निवेदन बुझाएकी थिइन।
मन्त्री ढकालले डा चौधरी राजिनामा स्वीकृत गर्न प्रस्ताव मन्त्रीपरिषदमा पेस गरेका थिए।
सचिव डा चौधरीले कात्तिक १३ गते राजिनामा बुझाएकी थिइन्। नेपाल सरकारको सचिव पदबाट राजीनामा दिएकी डा पुष्पा चौधरीको राजीनामा सरकारले गत मंसिरमा अस्विकृत गरेको थियो।
अघिल्लो वर्षको असोज २८ गतेको मन्त्रीपरिषद्ले डा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तान्ने निर्णय गरेको थियो। उक्त निर्णय गैरकानुनी भएको भन्दै डा चौधरीले सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन्।
सर्वोच्च अदालतले सचिव चौधरीको पक्षमा नै फैसला गरेको थियो।
त्यसपछि सचिव र सरकारबीचको सम्बन्ध चिसिएको थियो।
विश्व स्वास्थ्य संगठन भारतमा जागिर मिलेपछि सचिव चौधरीले सरकारलाई हालेको मुद्दा फिर्ता लिएकी थिइन्। मुद्दा फिर्ता लिएपछि उनले राजिनामा बुझाएकी हुन्।