काठमाडौं- सरकारले नेपाल नर्सिङ काउन्सिलको रिक्त रहेको सदस्य पदमा नर्स सानु तुलाधर र दुर्गालक्ष्मी श्रेष्ठलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले तुलाधर र श्रेष्ठलाई काउन्सिलको सदस्य पदमा नियुक्त गरेको हो। सरकारकाे नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गाेकुल बास्काेटाले साे जानकारी दिएका हुन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सिफारिस गरेको तुलाधर र श्रेष्ठको नाम नियुक्तिका लागि प्रस्ताव गरेका थिए।
मन्त्रालयले तुलाधारलाई क्याम्पस प्रमुख तर्फबाट र श्रेष्ठलाई सरकारी कोटाबाट सिफारिस गरेको थियो। काउन्सिलमा हाल ३ जना सदस्यको पद रिक्त रहेको छ। मन्त्रालयले दुई जनाका लागि नाम सिफारिस गरे पनि अझै मेट्रोनहरुका तर्फबाट हुने सदस्य पद खाली नै रहने देखिएको छ।
मेट्रोनहरुको तर्फबाट पनि मन्त्रालयले नै नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ।काउन्सिलमा १५ सदस्य बोर्ड रहने छन्।