काठमाडौं- एक वर्षे काखे छोरा लिएर २४ वर्षीया बबिता दाहाल खाना पकाउँदै थिइन्। खोटाङको दिक्तेलस्थित घरमा उनी अगेनामा दाउरा बालेर खाना पकाइरहेकी थिइन्।
छारेरोगकी बिरामी बबितालाई एक्कासि रोगले च्याप्यो। उनी अगेना छेउमै बेहोस भएर ढलिन्।
आमा ढलेपछि एक वर्षे छोरा बेस्सरी रुन थाले। बच्चा रोएको आवाज निरन्तर आइरहेपछि बबिताकी सासु हतारिँदै भान्सामा आइपुगिन्।
उनी आइपुग्दासम्म बबिताको देब्रो खुट्टा र हात जलेको थियो। कपडा शरीरमा जलेर टाँसिएको थियो।
बबिता होसमा आउँदा उनको हात र घुँडामा निकै ठूला फोका उठेको थियो। पोलेर सहनै नसक्ने पीडा हुँदै थियो।
घटना गत मंसिर १८ गतेको हो।
त्यसपछि उनलाई नजिकैको मेडिकलमा लगियो। डाक्टरले आवश्यक उपचार गरेर काठमाडौं तुरुन्तै लैजान सुझाव दिए।
बबिताको खुट्टा धेरै पोलेका कारण हिँड्न समेत नसक्ने भएकी थिइन्।
राती श्रीमान् घर फर्केपछि बबिताले सबै कुरा सुनाइन्। तर, श्रीमान्ले कुनै प्रतिक्रिया नै दिएनन्।
आफूलाई गाह्रो भएकोले अस्पताल लैजान आग्रह गरिन्। तर उनका श्रीमान्ले उनको कुरा सुनेको नसुने गरे। ड्राइभर पेसामा रहेका उनका श्रीमान् भोलिपल्ट बिहान उठे र गाडी लिएर निस्किए।
एकातिर आगोले पोलेको घाउले शरीरमा पीडा दिइरहेको थियो। अर्कोतर्फ श्रीमान्को बदिलिएको व्यवहारले बबिताको मन समेत पोल्न थालिसकेको थियो।
‘घटना भएको हरेक दिन म श्रीमानले उपचारका लागि लैजालान् भन्ने आश गरिरहन्थें,’ राष्ट्रिय ट्रमा सेन्टरको शय्याबाट आँखाभरि आँशु पार्दै बबिताले सुनाइन्, ‘तर उहाँले त वास्तै गर्नुभएन। मेरो पीडालाई नदेखेझँै गर्नुभयो।’
यो बीचमा उनकी सासुले हरेक दिन पोलेको ठाँउमा तातोपानीमा नुन हालेर घाउ सफा गरिदिन्थिन्। घाउ सफा गर्दा बबितालाई निकै पोल्थ्यो। उनले सासुलाई सफा नगरिदिन् आग्रह गर्थिन्। सासुले परम्परागत उपचार विधि यही हो। नआत्तिउ, ठिक हुन्छ भन्दै सान्त्वना दिन्थिन्। तर, घाउ बिसेक भएन। बरु उल्टै घाउ पाक्न सुरु भयो।
६ दिनसम्म पनि श्रीमान्ले अस्पताल नलगेपछि बबिताले माइतीमा आफ्ना आमाबुबालाई खबर गरिन्। आमाबुबाले उनका घरका परिवारलाई गाली गरेपछि मात्र उनका श्रीमान्ले अस्पताल लिएर गए।
घरबाट स्टेचरमा बोकेर उनलाई नजिकैको अस्पताल पु¥याइयो। अस्पतालमा पु¥याउँदा यत्रो दिनसम्म किन अस्पताल नल्याएको भन्दै चिकित्सकले गाली गरे।
चिकित्सकले गाली गर्दा उनका श्रीमान् एक शब्द बोलेनन्। चिकित्सकले घाउ सफा गरी ब्यान्डेज लगाइदिएर र काठमाडौं रेफर गरे।
०००
खोटाङको दिक्तेलमा जन्मिएकी हुन् बबिता। १२ कक्षामा पढ्दै गर्दा उनको दुई वर्षअघि दिक्तेलकै दुर्गाप्रसाद दाहालसँग मागी विवाह भएको थियो। बबिताको परिवारले विवाहअघि नै उनको रोगका विषयमा जानकारी गराएको थियो।
दुर्गाप्रसादले विवाह गर्ने बेलामा जे रोग भए पनि म आफैँले उपचार गर्न लैजान्छु भन्दै बबितासँग विवाह गरेका थिए।
विवाह भएको एक वर्षपछि उनीहरुको छोरा जन्मियो। श्रीमान्ले माया नै गर्थे। बेलाबेलामा उनलाई छारेरोगले च्याप्थ्यो। श्रीमान्ले उनलाई तुरुन्त नजिकैको अस्पतालमा लैजान्थे। औषधि सकियो भने औषधि किनेर ल्याउँथे।
‘तर, विस्तारै उहाँ परिवर्तन हुँदै जानुभयो,’ बबिताले सुनाइन्, ‘ड्राइभरी पेसामा भएकाले बिहानै गाडी लिएर निस्किएपछि मध्यराति मात्र घर आउन थाल्नु भयो। सधैंजसो १२÷१ बजे आउनुहुन्थ्यो।’
सुरुसुरुमा बबितालाई कामको चापले ढिला भएको होला भन्ने लागेको रहेछ। तर, पछिपछि श्रीमान्ले झर्केर बोल्ने, बिरामी हुँदा पनि वास्ता नगर्ने, औषधि सकिँदा पनि नल्याउने गर्न थाले। ‘उहाँको माया मर्दै गएको कुरा आगोले पोलेपछि त झनै प्रष्ट भयो,’ उनले भनिन्।
०००
दिक्तेलबाट बबितालाई उनकी बहिनीले काठमाडौं ल्याएकी हुन्। उनका श्रीमान्ले आफ्नो काम छ भन्दै बबिताकी बहिनी अमृतालाई साथी गइदिन आग्रह गरेका थिए। सोही अनुसार अमृताले बबितालाई काठमाडौं ल्याएकी हुन्।
काठमाडौं आउने समयमा बबिताका श्रीमान्ले एम्बुलेन्सको खर्च भने तरिदिएका थिए। सो क्रममा उनले अमृताको हातमा दुई हजार राखिदिँदै ‘काठमाडौंमा भिनाजु पर्ने एक जना हुनुहुन्छ, केही समस्या परे उहाँलाई फोन गर्नु’ भन्दै मोबाइल नम्बर समेत दिएका थिए।
दिक्तेलबाट आएको एम्बुलेन्सले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ल्याइदियो। एक दिन अस्पतालमा बसेपछि बबिताका श्रीमान्ले फोन गरेर आफूले महँगो अस्पतालमा उपचार गर्न नसक्ने भन्दै सरकारी अस्पतालमा लैजान आग्रह गरे।
पहिला कहिले पनि काठमाडौं नआएका बबिता र अमृतालाई सरकारी अस्पताल कहाँ छ भन्ने जानकारी समेत थिएन।
त्यसपछि अमृताले भिनाजुले दिएको नम्बरमा फोन गरिन्। फोन त उठ्यो तर आफूले कुनै दुर्गाप्रसाद दाहललाई नचिन्ने भन्दै ती व्यक्तिले फोन राखे।
त्यसपछि अमृताले सरकारी अस्पताल कहाँ छ भन्ने जानकारी मागिन्। नचिनेका मानिसहरुले दिएको सुझावअनुसार उनी दिदीलाई लिएर पुगिन् राष्ट्रिय ट्रमा सेन्टर। ट्रमा सेन्टरमा भर्ना भएर उनको निरन्तर उपचार भयो।
एक महिनाको बसाइमा उनको खुट्टा र हातमा गरी दुई वटा शल्यक्रिया भएका छन्।
छोराको खबर सोध्दा झर्किइन् सासु
काठमाडौं आउँदा बबिताकी सासुले छोरो पनि सँगै लिएर जानु भनेकी थिइन्। आफू र बहिनी मात्र काठमाडौं जानुपर्ने भएपछि छोरालाई राख्न समस्या हुन्छ भन्दै उनले १ वर्षे छोरालाई सासुकै जिम्मामा छाडेकी थिइन्।
सुरुमा बबिताले छोराको विषयमा सासूले राम्रै छ, छोराको चिन्ता नगर्नु भन्थिन्। सासुले छोराको चिन्ता नलिई आफ्नो उपचार गर्न आग्रह गर्थिन्। बबिता ढुक्क थिइन्। तर, आमाको मन न हो।
बबिताले फेरि सासुलाई फोन गरेर छोराको विषयमा सोधिन्। तर, सासुले झर्किँदै जवाफ फर्काइन्। ‘मलाई तेरो मतलब छैन। मेरो नाति मसँगै छ, अब फोन नगरेस्,’ सासुले यति भनेर फोन काटिन्।
त्यसपछि बबिता झनै आत्तिइछन्। उनको मन झन् पोल्दै गएछ। फेरि सासुलाई फोन गरिन्। तर, फोन सधैं अफ।
श्रीमान् बेपत्ता
उपचारका लागि काठमाडौं आएकी बबितालाई भेट्न उनका श्रीमान् कहिले पनि आएनन्। न त उनले फोन गरेर सोधका छन्।
श्रीमान्ले फोन नगरेपछि बबिताले बहिनीलाई फोन गर्न लगाउँथिन्। उपचारका लागि पैसाको कुरा गर्थिन्। तर, उताबाट पैसा नभएको र खोज्दै गरेको जवाफ आउँथ्यो र फोन काटिन्थ्यो।
श्रीमान्ले पैसा नपठाएपछि बबिताले आफ्नी आमासँग उपचारका लागि खर्च मागिन्। उपचार गरिन्।
अमृताको अवस्था बुझेर अस्पतालले निःशुल्क शल्यक्रिया गरिदियो। खाना निःशुल्क दियो।
एक हप्ता अगाडि बबिताको शल्यक्रिया भएको हो। शल्यक्रिया भन्दा अगाडि अमृताले भिनाजुलाई फोन गरेकी थिइन्। बबिताका श्रीमान्ले आफू काठमाडौं हिँडे भनेका थिए। तर, एक सता बित्दा समेत उनी आएनन्। उनको फोन अझै अफ नै छ।
घरमा फोन गर्दा समेत लाग्दैन। बबिताले आत्तिँदै श्रीमान्का साथीभाइलाई समेत फोन गरिन्। तर, सबैले गाउँमा नभएको जवाफ दिए।
हुन त एक महिनाको बीचमा पहिले पनि उनका श्रीमान्ले पहिलेको सिम परिर्वतन गरेर सम्पर्कविहीन भएका थिए। बबिताले फेरि नम्बर पत्ता लगाएर सम्पर्क गरेकी थिइन्।
‘यसपटक पनि त्यस्तै गरे होलान्,’ बबिताले मसिनो स्वरमा भनिन्, ‘अब त मेरो मन नै जलिसकेको छ। दुःख पर्दा नहेर्ने श्रीमान्सँग म अब बस्दिनँ। जो व्यक्तिले श्रीमती बिरामी हुँदा समेत वास्ता गर्दैन, ऊसँग कसरी बस्न सकिन्छ? अब छोरा लिएर माइत नै जान्छु।’
०००
ट्रमा सेन्टरको छैटौं तलको ६ सय ४ नम्बर बेडमा उनले एक महिना बिताइन्। बुधबार अस्पतालबाट बबिता डिस्चार्ज भएकी छिन्।
अस्पतालबाट डिस्चार्ज हुने समयमा उनले भावुक हुँदै भनिन्, ‘जलेको हातखुट्टा त निको भयो, तर मेरो मन जलेको छ। जलेको मन कसरी निको होला खै?’