भैरहवा- ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच तथा सेवा प्रदान गरिने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लाभरका ८४ वर्षमाथिका नागरिकलाई घरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सेवा प्रदान गर्न लागेको हो। कार्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा यस्तो जानकारी दिएको हो।
प्रदेश ५ सरकारले १२ जिल्लामा ८४ वर्षमाथिका नागरिकलाई आर्थिक अभाव तथा अस्पताल जान नसकेर स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर गतवर्षदेखि यो कार्यक्रम शुरु गरेको हो।
गत वर्ष असारमा मात्रै निर्देशिका आएकाले जिल्लाका १ हजार ८ सय ९१ जनालाई मात्र स्वास्थ्य सेवा प्रदान गर्न सकिएको जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए। गिरीले जिल्लामा ३ हजार ४ सय ४० जना ८४ माथिका नागरिक रहेको र ती नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने बताए। यस वर्ष माघको सुरुबाटै स्वास्थ्यकर्मी घरघरमा पुग्ने प्रमुख गिरीले जानकारी दिए। 'पालिकाहरू अन्तर्गतका शहरी स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी घरमा गएर स्वास्थ्य जाँच तथा सेवा प्रदान गर्नेछन्,' सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले भने।
'जेष्ठ नागरिकलाई अस्पताल गएर उपचार गर्न कठिन हुने भएकाले घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो,' उनले भने। जेष्ठ नागरिकलाई रगत, सुगर, पिसाब, मलेरिया, हाडजार्ने, ड्रेसिङ, ब्यान्डेजिङ, काउन्सिलिङलगायतका सेवा दिइने उनले बताए।
गत वर्ष स्वास्थ्य सेवा प्रदान गरेका जेष्ठ नागरिकहरूमा उच्च रक्तचाप, सुगर, कमजोरीलगाएतका समस्या रहेको उपचारमा खटिएको स्वास्थ्य टोलीले जानकारी दिएको छ। जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्मा, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले जेष्ठ नागरिकलाई सम्मान गर्न सके मात्र स्वस्थ समाजको परिकल्पना गर्न सकिने उल्लेख गरे। उनीहरुले जेष्ठ नागरिकलाई परिवारमा पनि सम्मान र सेवा जरुरी रहेकोमा जोड दिए।