काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले छिट्टै मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर गर्न आवश्यक रहेको बताएका छन्।
स्वास्थ्य मन्त्रालयमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले जिम्मेवारी हेरफेर गर्न आवश्यक ठानेको बताएका हुन्। उनले भने,‘मन्त्रालयभित्रैको जिम्मेवारी, अस्पतालका मेसु हेरफेर र अस्पताल विकास समिति गठन गर्ने काम बाँकि छ। केही काम भएका पनि छन्। त्यसका लागि हतार छैन तर जरुरी छ।’
उनले मन्त्रालयका गतिविधिबारे जानकारी दिँदै स्वास्थ्यका कार्यक्रमलाई थप प्रभावकारी बनाउन र कामका दौरानमा देखिएका द्विविधा हटाउन भन्दै सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयसंग छलफल गर्न लागेको बताए।
आगामी मंगलबार काठमाडौं हुने छलफलमा सातवटै प्रदेशका सामाजिक विकास मन्त्री र सचिवलाई बोलाईएको छ। मन्त्री ढकालले स्वास्थ्यका विषयमा काम गर्ने दौरानमा संघीय र प्रदेश सरकार प्रदेश सरकारबीच देखिएका अप्ठेराहरुलाई मेटाउन छलफलले सहयोग हुने बताए।
‘संघ र प्रदेश मन्त्रालयबीच कर्मचारी व्यवस्थापनका कुरा, अस्पतालका सेवाका कुरा, आदि विभिन्न विषयमा छलफल हुनेछ,’ मन्त्री ढकालले भने ।
मन्त्रालय सम्हालेको दुई महिनाको अवधिमा नियमित कामबाहेक पाटन, कर्णाली र बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक, सहिद गंगालाल हृदय केन्द्र, मेडिकल र नर्सिङ काउन्सिलमा प्रमुख र पदाधिकारी नियुक्ति, मन्त्रालयमा काज रहेका कर्मचारीलाई जिम्मेवारी दिने काम भएका छन्। लामाे समयदेखि राेकिएकाे भने १२औं तहकाे कर्मचारी बढुवा प्रक्रिया पनि अघि बढेकाे छ।
उनले मन्त्रालयले समायोजनको कामलाई छिट्टै समाधान गर्ने उल्लेख गर्दै पहिले समायोजन भएका तर दुर्गम भनि नगएकाहरुको बारेमा तत्काल निर्णय परिवर्तन नगर्ने संकेत गरे।
उनले भने,‘उदाहरणका लागि कौशलटार कार्यालय भएको कर्मचारीको चाँगुनारायण स्वाथ्य संस्थामा समायोजन भएकामा दुर्गम भयो भनेर गुनासो परेको छ। जुनकुरा निवेदन दिनेर मन्त्रालयलाई दुवैलाई थाहा छ निर्णय फेरिदैँन भनेर ती कर्मचारीलाई औपचारिक रुपमा हुँदैन भनेर जहाँ खटाएको त्यहाँ भएर काम गर्नु भनी आधिकारीक पत्र दिनु पनि निकास दिनुजस्तै भएकोछ।’
मन्त्रालयको समायोजनसम्बन्धी गुनासो सुन्ने समुहलाई पुन:व्यवस्थतित गर्दै समायोजनको कामलाई अगाडि बढाएको जानकारी दिए। ‘धेरै विवाद नभएको करिब ४७ जिल्लमा जहाँ खालि रहेको र त्यहाँ जान चाहनेको निवेदन परेकोले उनीहरुलाई जिम्मेवारीमा खटाइने छ,’ उनले भने।
उनले स्वास्थ्य मन्त्रालयको जिम्मेजारी पाएपछिको अहिलेको अवधिसम्म स्वास्थ्यलाई बुझ्ने विषयमा पिएचडि गरेको अनुभव सुनाए।
‘यहाँ आएपछि डाक्टर, नर्स के भन्ने राम्रोसँग बुझ्न पाएँ, डाक्टरप्रति पहिला आमाबुवाभन्दा माथिका भगवान हुन् भन्ने सोच थियो तर त्यो भ्रम कानुन मन्त्री भएपछि ५० प्रतिशत घट्यो, स्वास्थ्य मन्त्रलाय आएपछि त्यो विश्वासमा अझ स्पष्ट हुन पाएँ,’ उनले भने।