काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कानुनविपरीत सुर्तिजन्य पदार्थ लिलामको सूचना सार्वजनिक गरेको छ। कार्यालयले आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ को मुद्दाअनुसार विभिन्न सयममा यात्रुबाट जफत गरेको सुर्तिजन्य पदार्थ कानुनविपरीत लिलामको सूचना सार्वजनिक गरेको हाे।
सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ काे दफा २१ मा जफत गरेको सुर्तिजन्य पदार्थ नष्ट गर्नुपर्ने उल्लेख छ। तर, विमानस्थल भन्सार कार्यालयले १५ दिनको सूचना प्रकाशन गरी जफत गरेको सुर्तिजन्य पदार्थ लिलाममा बिक्री गर्न लागेको हो।
ऐनको दफा २१ काे १ मा मुद्दा हेर्ने अधिकारीले ऐन बमोजिम जफत गरेका सुर्तिजन्य पदार्थ नष्ट गर्नुपर्ने स्पष्ट उल्लेख गरेको छ। तर, विमानस्थल भन्सार कार्यालयले भने ७ हजार ५ सय ८५ केजी सुर्तिजन्य पदार्थ लिलाममा बिक्रीका लागि सोमबार १५ दिने सूचना प्रकाशन गरेको हो।
विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णु राज ढकालले भन्सार ऐनअनुसार बिक्री वितरणको लाइसेन्स प्राप्तहरुलाई मात्रै सुर्तिजन्य पदार्थ बिक्री गर्ने गरी सूचना प्रकाशन गरेको बताए। भन्सार ऐनअनुसार चोरी पठारी गरेर ल्याएको समानको मूल्यांकन गरेर बिक्री गर्न लागेको उनको दाबी छ। तर,सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा जफत गरिएको सुर्तिजन्य पदार्थ बिक्री वितराण गर्न नपाउने र नष्ट नै गर्नुपर्ने स्पष्टमा रुपमा लेखेको छ।
कार्यालयले पनि पहिलो पटक यसरी बिक्री गर्न लागेको उनको दाबी छ। ‘राज्यलाई पनि केही राजस्व आउँछ,’ उनले भने, ‘ मान्यता प्राप्तलाई मात्रै बेच्ने हो। जफत गरेको पदार्थले हो।’ साथै ऐनमा सुर्तिजन्य पदार्थ नष्ट गर्दा मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नष्ट गर्नुपर्ने उल्लेख छ।

विमानस्थल भन्सार कार्यालयले ७ हजार ५ सय ८५ केजी सुर्तिजन्य पदार्थ लिलाम बिक्रीका लागि १५ दिनको सूचना प्रकाशन गरेको छ। कार्यालयले ४४ लाख ३७ हजार २ सय २५ रुपैयाँ न्यूनतम मूल्य राखेर लिलामका लागि सूचना प्रकाशन गरेको छ। लिलामका लागि प्रस्ताव राख्ने कम्पनीले कबुल गरेको रकमको १० प्रतिशत रकम राष्ट्रिय वाणिज्य बैंकमा भन्सार कोषको खातामा दाखिला गर्नुपर्ने छ।
विमानस्थल भन्सार कार्यालयले पछिल्लो समय वैदेशिक रोजगारीमा तथा अध्ययनलगायत विभिन्न प्रयोजनका लागि विदेश जानेले ब्यागेजमा लैजान लागेकाे सुर्तिजन्य प्रदार्थ नियन्त्रणमा लिँदै आएको छ। कार्यालयले सोही सुर्तिजन्य प्रदार्थ लिलामका लागि सूचना प्रकाशन गरेको हो।