काठमाडौं – नेपाली औषधि बजारमा नयाँ नेपाली कम्पनीले आफ्ना उत्पादन बजारमा ल्याएको छ। माघे संक्रान्तिको अवसर पारेर क्यूबिडी फर्मास्युटिकल्सले बुधबारदेखि आफ्ना उत्पादन बजार पठाएको हो।
५० करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको क्यूबिडीले नयाँ नयाँ उत्पादनमा जोड दिएको कम्पनीका प्रबन्ध निर्देशक दीपक प्रधानले जानकारी दिए। उनका अनुसार कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिएको छ।
‘हामी बजारमा धेरै भएका औषधिभन्दा पनि नयाँ औषधि उत्पादन गरेर बजारमा आएका छौं,’ उनले भने, ‘औषधिको संख्याभन्दा पनि हामीले गुणस्तरमा जोड दिएका छौँ।’ उनका अनुसार कम्पनीको नाम पनि गुणस्तरलाई नै ध्यानमा दिएर राखिएको हो।
‘विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास अर्थात जिएमपी मापदण्डमा क्वालिटी बाई डिजाइन अर्थात छोटकरीमा क्युबिडी भन्ने शब्द रहेको छ,’ उनले भने, ‘हामीले सोही कुरालाई मध्यनजर गर्दै कम्पनीको नाममा नै राखेका हौँ।’ कम्पनीले युरोपिएन जिएमपी अर्थात इयूजिएमपीलाई समेत मध्यनजर गर्दै त्यही अनुसार काम अगाडि बढाइएको पनि उनले जानकारी दिए।
कम्पनीले पहिलो चरणमा आफ्ना उत्पादन काठमाडौं उपत्यकाबाट बजारमा ल्याएको छ। त्यसपछि क्रमश सबै प्रदेशका बजारमा औषधि विस्तार गर्दै लैजाने भएको छ।
साँगामा कारखाना रहेको कम्पनीको कर्पोरेट कार्यालय ललितपुर मानभवनमा रहेको छ। कम्पनीले यो वर्ष २५ प्रकारका औषधि बजारमा ल्याउने छ।