काठमाडौं- लाजिम्पाटस्थित सुरया हेल्थकेयर प्राली मापदन्ड पूरा गर्न नसकेपछि ‘ए’ श्रेणीबाट ‘बी’ श्रेणीमा झरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको अनुगमनका क्रममा सुरयाले आवश्यक मापदन्ड पूरा नगरेको फेला परेपछि ‘बी’ श्रेणीमा झारिएको हो।
जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार निरीक्षणका क्रममा सुरयाले ‘प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदन्डसम्बन्धी निर्देशिका २०७३’ अनुसार ‘ए’ श्रेणीका लागि आवश्यक पर्ने जनशक्ति, प्रयोगशालामा हुने परीक्षणका अन्य पूर्वाधार तथा मापदन्डहरु पूरा भएको पाइएको थिएन।
‘ए’ श्रेणीका लागि २४ जनाको जनशक्ति हुनुपर्नेमा सुरया प्रालीमा १४ जना मात्र फेला परेको थियो। यसका साथै सुरयाले 'क' श्रेणीको ल्याबले गर्नुपर्ने परीक्षण आफू नगरेर सुकेधारास्थित बायोडाइग्नोस्टिक प्याथल्याबमा पठाउने गरेको र उक्त ल्याबले भारतमा पठाउने गरेको पनि पाइएको छ।
निर्देशिकाविपरीत कार्य गरेको पाइएपछि जनस्वास्थ्य प्रयोगशालाले सुरयाको श्रेणी घटाउनुका साथै लाइसेन्स खारेज किन नगर्ने भन्दै स्पष्टीकरण समेत सोधेको छ। गुप्ताका अनुसार निर्देशिका विपरीत काम गरेको बायोल्याबलाई समेत स्पष्टीकरण सोधिएको छ।
‘उहाँहरुले चित्तबुझ्दो जवाफ नदिए हामी थप कारबाहीको प्रक्रिया अगाडि बढाउने छौं,’ उनले भने।
सरकारले ल्याबलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन २०७३ फागुनमा उक्त निर्देशिका ल्याएको थियो। निर्देशिकामा गुणस्तरीय र व्यवस्थित रुपमा प्रयोगाशाला सञ्चालन गर्न आवश्यक मापदन्ड, दर्ता प्रक्रिया, गलत गर्नेलाई सजाय लगायतका व्यवस्था रहेको छ।
निर्देशिकामा प्रयोगशाला स्थापनाका लागि दर्ता प्रक्रियादेखि प्रयोगशालाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, जनशक्ति, उपकरण, केमिकल तथा रिएजेन्टका विषयमा स्पष्ट उल्लेख गरिएको छ।
निर्देशिकाले देशभरमा सञ्चालनमा रहेका प्रयोगशालाहरुलाई जनस्वास्थ्य, अस्पतालमा आधारित, प्रयोगशाला सेवा मात्र दिने, अनुसन्धान, प्रेषण र रिफरेन्स (सन्दर्भ) गरी ५ प्रकारमा वर्गीकरण गरेको छ। यसरी केन्द्रदेखि स्थानीय तहसम्म वर्गीकरण गरिएका प्रयोगशालाहरुलाई क्षमता, पूर्वाधार, जनशक्ति लगायतका आधारमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ गरी पाँच समूहमा विभाजन गरिएको छ।
निर्देशिका अनुसार ‘ए’ समूहमा पर्ने प्रयोगशालाहरु अति विशिष्ट प्रयोगशाला अन्तर्गत पर्छन्। यी प्रयोगशालाहरु सरकारी/स्वायत्त र केन्द्रीय तहका सरकारी अस्पतालमा आधारित हुने छन्। यो समूहमा दुई सय बेडभन्दा बढी बेड क्षमता भएका सरकारी वा निजी अस्पतालमा आधारित प्रयोगशाला, मेडिकल कलेजमा आधारित प्रयोगशाला, प्रेषण प्रयोगशाला, केन्द्रीय तथा क्षेत्रीय अस्पतालमा आधारित प्रयोगशालाहरु र ५० बेडभन्दा माथिका विशेषज्ञ सेवा प्रदान गरिने अस्पतालका प्रयोगशालाहरु एवं अति विशिष्ट सेवा दिन भनेर खुलेका प्रयोगशाला मात्र पनि पर्छन्। 'ए' समूहमा रहेका प्रयोगशाला कम्तीमा दुई हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको हुनुपर्छ। यस्ता प्रयोगशालामा कम्तीमा २४ जना जनशक्तिको व्यवस्था गर्नुपर्छ।
यस्ता प्रयोगशालामा 'बी' समूहमा हुने सबै परीक्षणसहित निम्न परीक्षण हुन्छ।
यी मापदन्ड पूरा हुनुपर्छ

*सुरया हेल्थकेयर प्रालीको ठाउँमा यसअघि सुरया डाइग्नोस्टिक भएकोमा सच्याइएको छ।