काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका लागि आवेदन माग गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उपकुलपतिको रोष्टर तयार पार्न इच्छुकहरुको आवेदनसहितको विवरण माग गरेको हो।
मन्त्रालयले उपकुलपतिका लागि आन्तरिक सूची बनाउनका लागि भन्दै इच्छुकहरुसँग बायोडाटा र व्यक्तिगत विवरण माग गरेको छ। उक्त सूचीका आधारमा मन्त्रालयले उपकुलपतिका लागि नाम सिफारिस गर्ने तयारी गरेको छ।
सूचना अनुसार उपकुलपति बन्न इच्छुकले मन्त्रालयमा ५ दिनभित्र विवरण पठाउनु पर्ने छ।
पुस २५ गते बसेको प्रतिष्ठानको सिनेट बैठकले स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति सर्च कमिटी गठन गरेको थियो। उक्त समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य डा उषा झा र अर्थ सचिव राजन खनाल सदस्य रहेका छन्।
