मुख्य समाचार

धनगढीमा चेतावनीमूलक सन्देश नभएका ६ सय ५२ बोरा गुट्खा बरामद

प्रशासन बजार अनुगमन गर्दै, कम्पनीमा पुगेन

धनगढी- कैलालीमा जिल्ला सूर्तिजन्य नियन्त्रण, नियमन तथा नियन्त्रण समितिले बजार अनुगमनलाई तीब्र बनाएको छ। बजारमा कानुन विपरीतका सूर्तिजन्य पदार्थको बिक्री-वितरण बढेको गुनासो आएपछि अनुगमन तीब्र बनाइएको हो।

समितिले गत बिहीबार अनुगमनका क्रममा एउटै डिलरबाट ऐन विपरीतको ६ सय ५२ बोरा गुट्खा फेला पारेको थियो। त्यसपछि समितिले आज मंगलबार पनि बजार अनुगमन गरेको छ। अनुगमनको चाल पाएपछि केही व्यापारीले पसल नै बन्द गरेका छन्।

समितिले अनुगमनका क्रममा ऐनविपरीत उत्पादन गरिएका ६ सय ५२ बोरा मेघा श्री नाम गरेका गुट्खा भण्डारी ब्रदर्श डिलरबाट फेला पारेको हो। यस विषयमा समितिले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ। 

समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘हामीले पसल सिल गरिसकेका छौं। थप अनुसन्धान अघि बढाएर मुद्दाको प्रक्रियामा जाने छौं।’ उनले अहिले पनि अनुगमन जारी रहेको बताए। 

‘सम्पूर्ण पसलको अनुगमन गरि कहाँ-कहाँ र के-के कैफियत भेटियो भन्ने आधारमा संलग्न व्यक्तिहरु विरुद्ध मुद्दा दायर गरिने छ,’ उनले भने।

उनका अुसार उत्पादक कम्पनी, वितरक, बिक्री-वितरण गर्ने पसलको विवरणको आधारमा प्रतिवेदन तयार गरिने बताए। उनले सरकारी वकिलको रायसहित अघि बढी मुद्दा दर्ता गरिने बताए। उनका अनुसार मुद्दा दर्ता भएपछि कारबाही प्रक्रिया प्रमुख जिल्ला अधिकारीमार्फत अघि बढ्ने छ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को परिच्छेद ३ मा सूर्तिजन्य पदार्थको उत्पादन तथा बिक्री-वितरणको बुँदा ९ मा चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नुपर्ने व्यवस्था छ। सोही ऐन कार्यान्वयनका लागि बनाइएको निर्देशिकामा यस्ता उत्पादनमा ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश सहितको चित्र छाप्नुपर्ने व्यवस्था रहेको छ। तर, मेघा श्रीमा उक्त व्यवस्थाविपरीत निकै कम मात्रामा चेतावनीमूलक सन्देश छापिएको छ। 

कैलालीकै लम्की चुहामा रहेको देउती गुट्खा इन्डस्ट्रिजले मेघा श्री नामक गुट्खा (सूर्तिजन्य पदार्थ) उत्पादन गर्दै आएको छ। सो गुटखाको एक प्याकेटको अगाडि भागमा ठूलो अक्षरले गुट्खाको नाम, बनेको मिति, कम्पनीको नाम लगायतका कुरा उल्लेख छन् भने पछाडि ‘सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ’ भन्ने जनचेतनामूलक सन्देश, रंगिन चित्र राखिएको छ। ६ सेन्टिमिटर लामो प्याकेटको आधा भागमा मात्र सचेतनामूलक सन्देश उल्लेख गरिएको पाइएको अनुगमनमा संलग्न टोलीले जानकारी दियो।

अनुगमनमा संलग्न एक सदस्यले भने, ‘शुद्ध प्लस नामक गुट्खामा पनि कैफियत रहेको छ। तर, हामीले गोदाममा जाँदा पोका नै भेटेनौं।’ बजारमा बिक्रीमा राखिएको शुद्ध प्लसको पनि अगाडि भाग पूरै गुट्खाको नामले रंगिन गरिएको छ भने पछाडि भागको आधामा मात्र जनचेतनामूलक सन्देश राखिएको छ।

उनले भने, ‘हामी अनुगमनमा आएको पूर्वजानकारी पाएर पसल नै बन्द गरेर पनि भाग्ने गरेका छन्।’ उनका अनुसार २ गते भण्डारी ब्रदर्शमा अनुगमनपछि अर्को पसलमा जाँदा बन्द रहेको पाइएको थियो। उनले पसलको नाम भने खोल्न चाहेनन्।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने