काठमाडौं- चीनमा फैलिरहेको कोरोना भाइरसको असर दक्षिण एशियाका देशमा पनि फैलन सुरु गरिसकेकाले यसको नियन्त्रणका लागि विभिन्न देशहरुले सतर्कता अपनाइरहेका छन्। अस्ट्रेलिया‚ थाइल्याण्ड र नेपालजस्ता देशहरूले विमानस्थलमा ज्वरो परीक्षण गरिरहेका छन्।
चीनको उहाङ शहरका मेयर झौ सियान्वाङका अनुसार कोरोना भाइरसबाट चीनमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने करीब ३ सय जना यसबाट संक्रमित भएको पाइएको छ।
चीनमा बढिरहेको कोरोना भाइरसको संक्रमणबारे अध्ययन गरिरहेको चीनको उच्च स्वास्थ्य संगठनले कोरोना भाइरस व्यक्ति व्यक्तिमा सर्ने र उच्च सतर्कता अपनाउनाले सो भाइरसलाई नियन्त्रण गर्न सकिने बताएको छ।
चिनिया उच्च अधिकारीहरूले उक्त भाइरसका कारण चीनमा ६ जनाको मृत्यु भएको जनाएका छन्।
अहिलेको अवस्था सन् २००२ मा फैलिएको सार्स भाइरसजस्तो खतरनाक नभएको चिनिया नेसनल हेल्थ कमिसनका प्रमुख जोङ नन्सान बताउँछन्। उक्त भाइरसका कारण विश्वभर करीब ८ सय मानिसको ज्यान गएको थियो।
अहिले चीनमा फैलिरहेको नयाँ किसिमको भाइरसको पहिचान गर्न २ हप्ता लागेको जोङले बताए।
‘अहिले यो भाइरस सरुवा भएको पुष्टी भएको छ‚’ जोङले भने।
उक्त भाइरसबाट गत जनवरी १९ मा एक व्यक्तिको मृत्यु भएसँगै चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको उहान म्युनिसिपल हेल्थ कमिसनले जनाएको छ।
कोरोना भाइरसको संक्रमण चीनको उहान‚ बेइजिङ र साङ्घाइमा शहरमा फैलिएको छ। यसैगरी दक्षिण कोरिया‚ थाइल्याण्ड र जापानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ पुगेको बताइएको छ।
अस्ट्रेलियाले आउँदै गरेको चिनिया नयाँ वर्षमा हुने महोत्सवबाट पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने बताएको छ।
चिनिया पर्यटनका लागि यो सिजन एकदमै महत्वपूर्ण मानिन्छ। विश्वभरका लाखौं पर्यटकहरू घुम्नका लागि चीन जाने भएकाले उनीहरूको माध्यमबाट अरु देशमा पनि सो भाइरस सर्न सक्ने बताइएको छ।
यसअघि सन् २००२ मा चीनबाट फैलिएको सार्स भाइरसको संक्रमण २६ वटा देशमा फैलिएको थियो। जसबाट ८ हजारभन्दा बढी मानिसहरू सार्सबाट संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो।
अचानक फैलिएको कोरोना भाइरसको विषयलाई लिएर गत बुधबार विश्व स्वास्थ्य संगठनको आपतकालीन बैठक बसेको थियो। सो बैठकले उक्त भाइरस पशुपन्छीका माध्यमबाट सरेको हुन सक्ने अनुमान गरेको छ।
सोमबार दक्षिण कोरियामा ३५ वर्षीया महिला कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ। उनी चीनको उहान शहरबाट आएकी थिइन्। यसैगरी जापान र थाइल्याण्डमा पनि कोरोना भाइरसबाट ३ जना संक्रमित भएको पुष्टी भएको छ। संक्रमित तीनै जना चीनको भ्रमणमा गएका थिए।
यसैक्रममा सोमबार चिनिया राष्ट्रपति सि चीन फिङले नागरिकको सुरक्षालाई मध्यनजरमा राख्दै यसबाट निम्तने महामारीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्। उनले समयमै यसको बारेमा सबैलाई जानकारी दिएर अन्तर्राष्ट्रिय सहयोगमा यसको नियन्त्रण गर्नुपर्ने बताए। यसैगरी आउँदै गरेको चिनिया नयाँ वर्षलाई ध्यानमा राख्दै महामारीबाट मुक्त भएर चाडबाड मनाउनुपर्नेमा उनले जोड दिए।
नेपालले बढायो सतर्कता
श्वासप्रस्वासका माध्यमबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै नेपालले पनि उच्च सतर्कता अपनाइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको महाशाखा प्रमुख डा विवेक लालले जानकारी दिए।
‘अहिले यो रोग चीनमा फैलिरहेको भन्ने खबर आइरहेको छ,’ उनले भने, ‘चीनबाट नेपालमा धेरै पर्यटक नेपाल भित्रिने भएकाले हामी पनि उच्च जोखिममा छौं।’ उनले विमानस्थलको हेल्थ डेस्कले प्रभावित राष्ट्रबाट आएका व्यक्तिको विवरण संकलन गर्ने र विभिन्न अस्पतालसँग समन्वय गरिरहेको जानकारी दिए।
लक्षण
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनीकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनका अनुसार कोरोना भाइरसले संक्रमण गर्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने लक्षण देखिन्छ।
‘यसको लक्षण फ्लुसंग मिल्दोजुल्दो हुन्छ, त्यसैले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क रहनुपर्छ’, उनले भने।
जोगिन के गर्ने?
श्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा जानु हुँदैन। भिडभाडमा जानै परेमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने चिकित्सकहरुको बताउँछन्। यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन आवश्यक छ। साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खाने कुरामा ध्यान दिन आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले सुझाब दिएको छ।
-(विभिन्न ऐजेन्सीको सहयोगमा प्रदीप खद्योतले तयार पारेको सामग्री)