डडेल्धुरा- डडेल्धुरा अस्पतालको न्यूनतम सेवा मापदन्ड ३० प्रतिशत मात्र रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको विशेषज्ञ टोलीले तीन दिन लगाएर गरेको सूक्ष्म अध्ययनले विभिन्न सेवा प्रवाहको आधारमा यो नतिजा निकालेको अध्ययन टोलीका सदस्य तथा परिवार स्वास्थ्य महाशाखा निर्देशक भीमसिंह टिङ्करीले बताए।
सरकारले अहिले देशभरका अस्पतालहरुलाई तीन स्तरमा राखेर न्यूनतम सेवा मापदन्ड निर्धारण गर्ने कार्यक्रम अन्तर्गत यहाँ पनि मापदन्ड निर्धारण गरिएको उनले बताए। डडेल्धुरा अस्पताललाई रिफरल अस्पताल अथवा वीर अस्पताल सरह राखेर अध्ययन गरिहेको हो।
यस अस्पालतमा देशमै नभएका उपचारहरु भए पनि सञ्चालनमा नरहेको, सूचना अधिकृत नभएको, इमर्जेन्सी कोठा व्यवस्थापन, समाजिक परीक्षण नगर्ने गरेको, फोहरमैला व्यवस्थपान उचित नभएको, कर्मचारीमा उत्पेरणा लिने खालको कार्यक्रम नरहेको, अस्पतालको फार्मेसीमा औषधि पर्याप्त नभएको, स्वास्थ्यकर्मी तथा कर्मचारीले तोकिएको पोसाक तथा आइकार्ड नलगाउने गरेको पाइएको जनाएको छ।
चिकित्सक अभावमा डडेल्धुरा अस्पतालको ओपिडी सेवा १७ प्रतिशत मात्र छ भने राम्रा अंक शुद्ध खानेपानीमा ७५ प्रतिशत र लेखा व्यवस्थापनमा सतप्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। अहिले डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव पनि हट्दै गएको अस्पतालका निमित्त मेसु डा जगदीशचन्द्र बिष्टले बताए।
बिहीबार पनि अस्पतालमा विशेषज्ञ डाक्टर आउने जानकारी आफूले पाएको उनले बताए। अस्पतालको न्यूनतम सेवा मापदन्ड कम हुनाको मुख्य कारण दक्ष जनशक्ति अभाव र विशेषज्ञ डाक्टर अभाव नै रहेको अध्ययन टोलीको निष्कर्ष छ।
मन्त्रलायका एक कर्मचारीका अनुसार डडेल्धुरा अस्पतालमा केही महिनाअघि भएको डाक्टर कुटपटिको घटनाको बढाइचढाई मन्त्रालय तथा डाक्टरहरुलाई रिपोर्टिङ गरेको छ। समायोजनका कारण गएका डाक्टरहरुले आफूहरु डडेल्धुराबाट रगताम्मे भई भागेर धनगढी पुगेर बाँचेको भन्ने गलत सन्देश डाक्टरमा पुगेकाले खटाएका डाक्टरहरु पनि आउन मान्दैनन्।
मन्त्रालयको टिमले अस्पतालको प्रतिवेदन मन्त्रालयमा प्रस्तुतीकरण गर्ने र छिट्टै डाक्टर पठाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ।