काठमाडौं– सरुवा रोगसम्वद्ध मुलुकको एक मात्र केन्द्रीय अस्पताल हो– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। आजभन्दा ८६ वर्ष पहिले यो अस्पतालको स्थापना भएको थियो। विसं १९९० सालमा कलेरा अस्पतालको नाममा यसको जन्म भए पनि २०५३ साल माघ ११ गतेदेखि शुक्रराज अस्पतालमा परिणत भयो।
शुक्रराज अस्पतालले शुक्रबार आफ्नो ८६औं वार्षिकोत्सव मनाएको छ। ८६ वर्ष पुरानो अस्पतालले ४५ वर्ष पुरानो जीर्ण भवनमा सेवा दिइरहेको छ। वार्षिकोत्सवका अवसरमा अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल निर्देशकले हालको अस्पतालको मुख्य भवन स्थानान्तरण गर्नुपर्ने माग उठाए।
स्वास्थ्य राज्यमन्त्री नवराज रावत र स्वास्थ्य सचिव खगराज बराललाई निर्देशक डा पाण्डेले घना वस्तीमा अस्पताल भएकाले सरुवा रोगको जोखिम निम्तन सक्ने भन्दै अस्पतालले स्थानान्तरणको माग राखेका हुन्।
राज्यमन्त्री रावतले ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्यका पहुँचमा ल्याउन आवश्यक रहेको बताए। उनले अस्पतालका समस्या समाधानका लागि मन्त्रालय सकारात्मक रहेको जानकारी दिए।
स्वास्थ्य सचिव बरालले नयाँ नयाँ संक्रामक रोग देखिरहेका कारण अस्पतालको सेवा थप विशिष्टकृत बनाउन आवश्यक रहेको बताए।
अस्पतालका निर्देशक डा पाण्डेले भने, ‘मुख्य संरचना यही स्थानमा रहँदा भविष्यमा ठूलो जोखिम निम्तन सक्ने र विभिन्न रोगको महामारी फैलन सक्ने खतरा हुन्छ। त्यसैले स्थानान्तरण एकदमै आवश्यक छ।’
स्थान साँघुरो अनि भवन जीर्ण भएकाले सेवा प्रवाहमा कठिनाइ भएको उनको भनाइ छ। ‘अस्पतालले दिने सेवालाई विशिष्टकृत बनाउन आवश्यक छ। तर नयाँ र व्यवस्थित भवन नहुँदा अप्ठ्यारो भएको छ,’ उनले भने।
सरकारले जग्गा प्राप्तिको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। तर प्रक्रिया अघि बढ्न नसकेको उनको गुनासो छ। नयाँ भवन र जग्गाका लागि सरकारसँग माग गरे पनि सुनुवाइ नभएको अस्पतालका एक कर्मचारीले बताए। उनले भने, ‘बिरामीको चाप दिनप्रति दिन बढ्दो छ। तर अस्पताललाई थप व्यवस्थित बनाउन सकेका छैनौं। तर सरकारले खासै सुनुवाइ गरेको छैन।’
शुक्रराज अस्पतालमा बिरामीको चाप वर्षेनी बढ्दो छ। अस्पतालको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा ३ लाख ८१ हजार ८४ जनाले ओपिडी सेवा लिएका छन्। वार्षिक तथ्यांक नियाल्ने हो भने आर्थिक वर्ष २०७१/७२ मा ३१ हजार ७ सय ७० जनाले सेवा लिएका छन्। आर्थिक वर्ष ७२/७३ मा ५१ हजार २ सय २, आर्थिक वर्ष ७३/७४ मा ६५ हजार २ सय ५, आर्थिक वर्ष ७४/७५ मा ९४ हजार ४ सय ७७ र आर्थिक वर्ष ७५/७६ मा १ लाख ३ हजार ३ सय ५० जनाले ओपिडीबाट सेवा लिएका छन्। इमरजेन्सीबाट भने पछिल्लो पाँच वर्षमा ३० हजार ९ सय १० जनाले सेवा लिएको अस्पतालको तथ्यांक छ ।
बिरामीको संख्या वर्षेनी बढ्दै गएपनि स्थान अभावका कारण शय्या र सेवा बढाउन नसकिएको अस्पतालले बताएको छ। यस अस्पतालमा हाल एक सय शय्या छ।