एजेन्सी- चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको मृत्यु भएको छ। चीनको हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजनले लेखेको छ।
उक्त समाचार अनुसार कोरोना भाइरसका कारण डाक्टरको नै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो। डा वुदोङको मृत्युसँगै चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। भाइरसका कारण चीनमा १ हजार २ सय भन्दा बढी संक्रमित भइसकेका छन्। डा वुदोङ कोरोना भाइसरको नियन्त्रणका लागि निरन्तर खटिएका थिए।
चीनमा यो भाइरस सबैभन्दा पहिला उहान सहरमा भेटिएको थियो।
चीनसँगै यो भाइरसको संक्रमण अहिलेसम्म जापान, कोरिया, थाइल्यान्ड, अमेरिका र नेपालमा समेत देखिएको छ।
के हो कोरोना भाइरस?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।
अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ।
मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ?
मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने विषयमा आजसम्म वैज्ञानिक तवरले पुष्टि भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।
यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ?
सामान्यतया यस भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन। तथापी रुघा, खोकी तथा श्वासप्रस्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ।
नोवेल कोरोना भाइरसका मुख्य लक्षण के हुन्?
ज्वरो आउने, श्वासप्रस्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ। कोरोना भाइसर प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिएका तुरुन्त चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।
नोवेल कोरोना भाइरस लाग्नै नदिन के गर्ने?
नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु÷अन्डा राम्रोसँग पाकेको मात्र खाने।