काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ।
मन्त्रालयले स्वास्थ्य चौकी डुमरीया रौतहटलाई दिएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी भएको पाइएको हो। उक्त एम्बुलेन्सबाट ३० किलो गाँजासहित प्रहरीले चालकसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरीया–४ का १९ वर्षीय अशोक कुमार र भातर बिहार मोतिमारी बसन्तपुरका २२ वर्षीय विनोद सहनी छन्। उनीहरुलाई शनिबार साँझ पौन ७ बजे इलाका प्रहरी कार्यालय नेवारपानीले सोही इलाकाको पूर्व पश्चिम राजमार्गबाट पक्राउ परेका हो।
मनहरीबाट हटौडातर्फ जाँदै गरेको उक्त एम्बुलेन्सलाई जाँच गर्दा ३ वटा झोलामा ६ वटा प्याकेट बनाएरु ३० किलो गाँजा तस्करी गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरुको साथबाट ९१ हजार नेपाली रुपैयाँ र २ हजार २ सय भारु बरामद गरेको छ।