काठमाडौं- सरकारले त्रिभुवन विभानस्थलपछि रसुवा र तातोपानी नाकामा पनि हेल्थ डेस्क स्थापना गरेको छ। चीनमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि नेपालमा पनि सतर्कता अपनाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातोपानी र रसुवागढी नाकाबाट नेपाल आउने व्यक्तिको स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क स्थापना गरेको हो। चीनमा संक्रमण फैलिएसँगै चनिबाट आउने व्यक्तिबाट कोरोना संक्रमण भित्रिने खतरा रहेको छ। सोही खतरालाई मध्यनजर गर्दै नाकामा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।
‘रसुवा र तातोपानी नाकाबाट नेपाल प्रवेश गर्ने आन्तरिक र बाह्य नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ,’ उनले भने, ‘यसका लागि नेपालीको हकमा नेपालीले र चाइनिजको हकमा नाकामा रहेका चाइनिजको सहयोगमा आवश्यक स्वास्थ्य जाँच गर्न थालिएको हो।’
स्वास्थ्य जाँचका क्रममा कोरोनाको लक्षण देखिएका बिरामीलाई थप उपचारको प्रक्रिया सुरु गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
रसुवामा टिमुरेतर्फ नेपालले र अर्कोतर्फ चीनले पनि स्वास्थ्य जाँच सुरु गरेको छ। जाँचका क्रममा चीनले चिनियाँ तथा विदेशी पर्यटक भए त्यहीँबाट फर्काउने र नेपाली रहेको खण्डमा नेपालस्थित रसुवागढी नाकामा रहेको हेल्थ डेस्कमा पठाउने गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार तातोपानी नाकामा पनि यस्तै व्यवस्था गरिएको छ। उनले दुवै देशका अधिकारीले यसलाई गम्भीरतापूर्वक लिएर काम गरिरहेको जानकारी दिए।
कोरोना भाइरसका कारण चीनमा ८० जानको मृत्यु भइसकेको छ भने २ हजार संक्रमित भइसकेकाछन्। नेपालमा पनि एक जनामा यो भाइरसक भेटिएको पुष्टि भएको छ।
यो पनि