काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण देखिएको भनिएकी एक महिलाको प्रयोगशाला रिपोर्ट गोप्य राखेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४८ वर्षीय एक महिलामा पनि कोरोना भाइरस भेटिएको खबर सोमबार बाहिर आएको छ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ती महिलाका विषयमा कुनै पनि कुरा उल्लेख नगरी प्रयोगशाला परीक्षण गरिएका कुनै पनि थप व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको विवरण मात्र उल्लेख गरेको छ।
अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ती महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको कुरा अस्पतालबाट नै बहिरीएको थियो। तर, यो विषयमा महाशाखाले कुनै पनि कुरा उल्लेख गरेको छैन।
‘महिलामा कोरोना देखिएको विषय सार्वजनिक भएपछि महाशाखाले थप व्यक्तिमा भाइरस भेटिएको पुष्टि नभएको भन्दै गोलमोटल जानकारी बाहिर ल्याएको छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘महाशाखाले यो विषयलाई लुकाउने प्रयास गरेको छ। होइन भने जो व्यक्तिका विषयमा खबर बाहिर आएको छ उसको विषयमा किन केही बोलिएन? किन भाइरस नदेखिएको रिपोर्ट सार्वजनिक गरिएन?’
उनले अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई समेत मन्त्रालयबाट कुनै पनि कुरा बाहिर नल्याउन निर्देशन दिएको पनि जानकारी दिए।
'यस्तो संवेदनशिल विषयमा हल्ला चलेपछि सरकारले रिपोर्ट सार्वजनिक गर्न सक्नुपर्छ,' उनले भने, 'तर यहाँ त सबै कुरा लुकाउने प्रयास भएको छ। यहाँसम्मकी हामी सबैलाई नबोल्न समेत भनिएको छ।'
अस्पताल स्रोतका अनुसार ती महिलाको मंगलबार पुनः प्रयोगशालामा नुमना परीक्षण गर्ने तयारी भएको छ। टेकुमा नै रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती महिलाको नमुना परीक्षणको तयारी भएको हो।
जनस्वास्थ्य प्रयोगशालामा आज सोमबारदेखि नै कोरोना भाइरसको परीक्षण सुरु भएको हो।
कोरोनाकै आशंका गरिएका एक अमेरिकी नागरिक र अर्का एक जना ३२ वर्षिय युवामा भने कोरोना भाइरस नदेखिएको अस्पताल स्रोतले जाकनारी दियो। उनीहरु दुवैजना चीनबाट फर्किएका थिए।
यसअघि एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण भने पुष्टि भइसकेको छ। ती व्यक्ति उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्।