काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स एक्जाम) चैतमा गर्ने तयारी गरेको छ।
आयोगले यसका लागि आवश्यक प्रक्रिया अगाडी बढाइसकेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए।
'यो वर्षदेखि हामीले पिजीमा साझा प्रवेश परीक्षा लिने भएका छौं', उनले भने 'यसको तयारी अगाडि बढीसकेको छ। परीक्षाको मिती र अन्य प्रक्रियाका विषयमा हामी छिट्टै जानकारी गराउनेछौं।'
उनका अनुसार चैतमा परीक्षा लिने गरी काम अगाडि बढाइएको छ।
उनले विद्यार्थीहरुलाई अलमलमा नपर्न पनि आग्रह गरेका छन्।
'कसैले छुट्टाछुट्टै परीक्षा हुन्छ भन्छ भने त्यो गलत कुरा हो,' उनले भने, 'त्यसकारण कोही विद्यार्थी पनि अलमलमा पर्नु पर्दैन। चैतमा साझा परीक्षा हुन्छ। परीक्षाको तयारीमा विद्यार्थी लाग्दा हुन्छ।'
यसअघि पिजीका लागि विश्वविद्याल र प्रतिष्ठानहरुले छुट्टाछुट्टै परीक्षा गर्दै आएका थिए।
आयोगले पिजीपछि एमबिबिएस र बिडिएसको पनि साझा परीक्षा गर्ने प्रक्रिया अगाडि बढाएको छ।