बेलहिया (रुपन्देही)- नेपाल-भारत नाका बेलहियाबाट स्थलमार्ग हुँदै अत्यधिक पर्यटक नेपाल भित्रन्छन्। यो नाकाबाट चिनियाँ पर्यटक पनि अत्यधिक मात्रामा आउने गर्छन्। बेलहिया नाकाबाट श्रीलंका, थाइल्यान्ड, म्यानमार, भियतनामपछि चीनबाट पर्यटक आउने गरेको तथ्यांकमा उल्लेख छ।
तर, अत्यधिक पर्यटक भित्रिने नाका बेलहियामा एउटा पनि हेल्थ डेस्क स्थापना गरिएको छैन। चीनमा कोरोना भाइरसको संक्रमण बढे पनि नेपाल सरकारले सीमा क्षेत्रमा अहिलेसम्म पर्यटकको स्वास्थ्य जाँचका लागि हेल्थ डस्क स्थापना गरेको छैन। जसले गर्दा नेपालमा पनि कोरोना भाइसरको जोखिम बढेको छ।
चीनमा कोरोना भाइसरको संक्रमण फैलिएसँगै नेपाल-चीन नाका रसुवागढी बन्द गरिए पनि अन्य नाकामा भने सामान्य सतर्कता समेत अपनाइएको छैन।
बेलहिया नाका हुँदै सन् २०१८ मा चीनबाट ५ हजार २५ जना नेपाल पर्यटक आएका थिए भने सन् २०१९ मा ६ हजार १ सय ८ जना पर्यटक आएका थिए। २०१८ को जनबरीमा ५ सय ८, २०१९ को जनबरीमा ६ सय ४८ पर्यटक नेपाल भित्रिएका थिए भने २०२० को जनवरी २८ सम्ममा ५ सय ४७ जना आएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनाले जानकारी दिए। उनले प्रत्येक दिनजसो चीनबाट पर्यटकहरु आउने गरेको बताए।
नाकामा पर्यटकको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्कको स्थापना नहुँदा आफूहरुलाई समेत जोखिम बढेको उनले उल्लेख गरे।
‘पर्यटक नेपाल प्रवेश गरेपछि सबैभन्दा पहिले अध्यागमन कार्यलय आउँछन्, उनीहरुको पहिलो सम्पर्क अध्यागमनका कर्मचारीसँगै हुन्छ,’ प्रमुख खनालले भने, ‘संक्रमित पर्यटक भए हामी पनि जोखिममा पर्छौं।’ उनले स्वास्थ्य परीक्षण विना नै पर्यटकलाई नेपाल प्रवेश गराउँदा कोरोना भाइरसको जोखिम हुने हुँदा हेल्थ डेस्क स्थापना गर्नु पर्नेमा जोड दिए।
रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ४/५ दिन भित्रमा सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिने बताएका छन्। उनले सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गर्ने बिषयमा छलफल चलिरहेको उल्लेख गर्दै केही दिन भित्रै डेस्क स्थापना गरिने बताए।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतीय पक्षले भने सीमा नाका सुनौलीमा हेल्थ डेस्क स्थापना गरेको छ। भारतीय पक्षले चिनियाँ पर्यटकलाई स्वास्थ्य परीक्षण गरेर मात्र पठाउने गरेको बताएको छ। चीनमा कोरोना भाइरसका कारण सय बढीको ज्यान गइसकेको छ भने १३ सय बढी संक्रमित भएको समाचार संस्थाहरुले जनाएका छन्।