काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले रुघाखोकी लागेका बिरामीलाई खोजीखोजी कोरोना भाइरसको संक्रमण भयो भनेर समाचार नलेख्न पत्रकारलाई आग्रह गरेका छन्।
उनले कोरोना भाइरस, त्यसको संक्रमणलाई लिएर विभिन्न टीकाटिप्पणी भएको भन्दै कोरोना भाइरसबारे हुँदै नभएको विषयमा धेरै प्रचार गरेर समाजमा भय र आतंक निम्त्याउने कुरालाई बल नपुर्याउन सचेत गराए।
नेपाल नर्सिङ संघको बुधबार ५८औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री ढकालले भने, ‘पत्रकार मित्रहरुलाई मेरो अनुरोध छ, नेपालीलाई रुघाखोकी लागिरहन्छ, यो सामान्य हो। रुघाखोकी लाग्दा तातोपानी, नुनपानी, बेसारपानीले पनि उपचार गर्ने गर्छौं।’
सरकारले अहिले पाँच जना व्यक्तिलाई चिकित्सकीय निगरानीमा राखेको र एक जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको जनाएको छ। त्योबाहेक २ जनालाई परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको र २ जनालाई निगरानीमा राखिएको स्वास्थ्यमन्त्री ढकालले जनाएका छन्।
रोगका विषयमा यथार्थ जानकारी जनताको बीचमा ल्याउने कुरा लुकाउने पक्षमा सरकार नभएको भन्दै मन्त्री ढकालले भने, ‘सामूहिक ढंगले नै त्यसको समाधान गर्नुपर्छ। अस्पताल लाने बित्तिकै रोगको जोखिममा पहिला तपाईंहरु नै पर्नुहुन्छ भने तपाईंहरुलाई नै सूचित नगर्ने भन्ने होइन।’
कोरोना भाइसरका विषयमा सरकारले जानकारी लुकाएको भन्दै आलोचना हुन थालेकाे छ। 'नभएको विषयमा अलि बेसी प्रचार भयो भने नकारात्मक खालको प्रभाव हुन्छ। त्यो प्रभावबाट जोखिन हामीले उच्च सावधानीका साथ काम गर्दै आएका छौं,’ मन्त्री ढकालले प्रष्ट पारे।