काठमाडौं- सहिद गंगालाल हृदय केन्द्रले पनि मोबाइलबाट नै ओपिडी टिकट काट्न सक्ने सेवा सुरु गरेको छ। अस्पतालको २४औं वार्षिकोत्सवका अवसरमा मोबाइल र अनलाइन टिकट सेवाको सुरुवात गरिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले यो सेवाको सुरुवातसँगै बिरामीलाई टिकट काट्न निकै सहज हुने बताए।
यो सेवाको सुरुवातसँगै बिरामी वा बिरामीका आफन्तले टिकट काट्नका लागि अस्पतालमा पुगेर लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ती पाउने छन्।
प्रभु पे मोबाइल वालेट मार्फत बिरामी वा आफन्तले घरमा बसेर नै टिकट काट्न सक्नेछन्।
मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो।
यो सेवा केही समयअघि निजामती अस्पतालले सुरु गरेको थियो। उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने निजामती अस्पताल पहिलो भएको हो। त्यसपछि क्रमश अन्य अस्पतालले यो सेवा सुरु गर्न थालेका हुन्।
गांगालालले केही दिन परीक्षण सेवा सुरु गर्ने र त्यसपछि पूर्णकालिन सेवा सञ्चालनमा ल्याउन लागेको निर्देशक डा अधिकारीले जानकारी दिए।
बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै टिकट काट्ने व्यवस्था सुरु गरेको उनले जानकारी दिए।
अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ।
मोबाइलबाट टिकट काट्न के गर्ने?
प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ। त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ। हस्पिटल बटन भित्र प्रवेश गरेपछि गंगालाल अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ। गंगालाल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ।
त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने। त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ। उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ।
यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ।