काठमाडौं – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले औषधिको कच्चा पदार्थको आयातलाई सहज बनाउने बताएका छन्। देउराली–जनता फर्मास्यूटिकल्स प्रालि को २९ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले औषधि उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको झन्झटिलो प्रक्रियालाई सहज बनाउने बताएका हुन्।
उनले भने, ‘कच्चा पदार्थमा लाग्ने कर, भन्सार र अन्य प्रक्रियामा सहजता ल्याउन सक्दो पहल गर्नेछु।’ आयात प्रक्रियालाई सहज बनाउन र सहुलियत प्रदान गर्न नीति निर्माण तहमा सक्दो भूमिका निर्वाह गर्ने उनको आश्वासन छ। औषधिमा आत्मनिर्भरता बढाउन आवश्यक रहेको उनको भनाई थियो।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले उद्योगहरुले स्वदेशमै सक्दो कच्चा पदार्थ बनाउन सुरुवात गर्नुपर्ने बताए। स्वदेशमै केही कच्चा पदार्थ बनाउन सके चीन, भारतबाट ल्याउनुपर्ने बाध्यता केही हदसम्म कम हुने उनको भनाई छ।
उनले भने, ‘स–साना कच्चा पदार्थ पनि हामी बाहिरबाटै ल्याउँछौ तर सक्दो यही उत्पादन गर्न सके अन्य मुलुकमा भर पर्नुपर्ने बाध्यता केही भएपनि कम हुन्थ्यो।’ उत्पादनको क्षेत्रमा सरकारले लगानी बढाउन आवश्यक रहेको उनले बताए ।
सरकारले औषधि उद्योगको विकासलाई आफ्नो प्राथमिकतामा नराखेको देउराली–जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माको गुनासो छ। सरकारले स्वदेशी भन्दा विदेशी औषधिलाई बजारमा प्राथमिकता दिएको उनको भनाई छ। सरकारले निर्यातमुखी नीति अवलम्बन गर्न सके औषधि उद्योगको विकास हुने उनले बताए।
‘वर्षेनी करीब ४० अर्ब रुपैयाँको औषधि आयात हुन्छ। यो कुराले सरकारलाई किन पीडा हुँदैन। त्यसैले सरकारले नीति परिमार्जन गर्नुपर्छ,’ उनले भने। गुणस्तर औषधि उत्पादनमा सधै प्रतिवद्ध रहेको उनको भनाई छ ।