काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई ‘धोका’ दिएका एक डाक्टरलाई उपकुलपति बनाउने तयारी गरेका छन्।
सरकारी जागिरे भए पनि असाधारण घर बिदा लिएर झापामा रहेको अस्पताल बिएन्डसीमा कार्यरत डा गेहनाथ बराललाई प्रधानमन्त्री ओलीले उपकुलपति बनाउने तयारी गरेका हुन्।
बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई हुन्। हाल उनी प्रहरीको फरार सूचीमा छन्। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई २० करोड घुस मागेको आरोपसहित धम्की दिएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुर र काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ।
प्रसाईंको घरमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि मार्सी चामलको खाना खाएको तस्बिर सार्वजनिक भएपछि विवाद समेत भएको थियो।
डा बराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका ११ औं तहका कर्मचारी हुन्। स्वास्थ्य सेवा ऐन अनुसार मन्त्रालय अन्तर्गतका कर्मचारीले आफ्नो जागिर अवधिभर पटक पटक गरी तीन वर्ष असाधारण घर बिदा लिन पाउँछन्। तर, त्यो बिदामा निजी अस्पतालमा भने जागिर खान पाइँदैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुनका उपसचिव पुष्कार नेपाल भन्छन्, ‘असाधारण घर बिदा लिएर निजी अस्पतालमा काम गर्न मिल्दैन। असाधारण बिदा लिने तर निजी अस्पतालमा गएर काम गर्नु भनेको सरकारलाई धोका दिनु हो।’
स्वास्थ्य मन्त्रालयकै अर्का एक कर्मचारी भन्छन्, ‘सरकारी सेवामा पद हडपेर पनि बस्ने अनि निजीमा गएर ढुक्कले काम गर्नु भनेको त बदमासी नै हो।’ उनले यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्ने बताए।
डा बराललाई उपकुलपति बनाउने तयारी भइरहेको छ नि भन्ने जिज्ञासामा ती कर्मचारीले भने, ‘सरकारी जागिर होल्ड गरेर सरकारी अस्पतालकै गाली गर्दै बिएन्डसीको बखान गाउने व्यक्ति कसरी उपकुलपतिका लागि योग्य हुन्छ? यस्ता व्यक्तिलाई त भविष्यमा सरकारी सेवामा नै आउन नमिल्ने गरी कारबाही पो गर्नुपर्छ।’
डा बरालको दरवन्दी विराटनगरस्थित कोशी अस्पतालमा रहेको छ।
सरकारलाई धोका दिएर विवादित निजी अस्पतालमा जागिर खाइरहेका डा बरालले गत महिना सरकारी अस्पतालको आलोचना गरेका थिए।
एक महिनाअघि बिएन्डसीले तीन सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको थियो। उक्त कार्यक्रममा सार्वजनिक रुपमा नै सञ्चारकर्मीसँग डा बरालले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आलोचना गर्दै बिएन्डसीको बयान गरेका थिए।
डा बरालको जन्मस्थान झापा हो। प्रधानमन्त्री ओली पनि झापाकै भएका कारण उपकुलपतिमा प्रधानमन्त्रीले बराललाई बनाउन खोजिरहेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ।
यसअघि पनि प्रधानमन्त्री ओलीले बराललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति बनाउन खोजेका थिए। तर, तत्कालित सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष तथा तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नमानेपछि रोकिएको थियो। मन्त्री यादवले बराललाई उपकुलपति बनाउन नमानेपछि लामो समय न्याम्स उपकुलपतिबिहीन भएको थियो। उपकुलपतिमा मन्त्री यादवले नमानेपछि लामो समयपछि डा डिएन साह उपकुलपति भएका थिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा बरालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवेदन दिइसकेका छन्। उपकुलपतिका लागि गठित छनोट कमिटीले इच्छुकसँग आवेदन माग गरेको थियो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा गठित सर्च कमिटीले आवेदन माग गरेपछि निर्धारित समयभित्र डा बरालसहित १६ जनाले निवेदन दिएका छन्।
यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र स्वास्थ्य मन्त्री ढकालले पनि आफू निकटका व्यक्तिलाई उपकुलपति बनाउन खोजिरहेका छन्। अध्यक्ष दाहाल र ढकालले उपकुलपति बनाउन चाहेका व्यक्तिका विषयमा स्वास्थ्यखबरले अर्को श्रृंखलामा प्रकाशित गर्ने छ।
यी हुन् आवेदन दिनेहरु
१. डा गुरु खनाल
२. डा सञ्जिब शर्मा
३. डा गेहनाथ बराल
४. डा ज्ञानेन्द्र गिरी
५. डा नारायण बिक्रम थापा
६. डा रोजन्द्रप्रसाद साह
७. डा विक्रमप्रसाद श्रेष्ठ
८. डा प्रल्हाद कार्की
९. डा बिएन यादव
१०. डा पारसकुमार पोखरेल
११. डा सिएस अग्रवाल
१२. डा गजेन्द्रप्रसाद रौनियार
१३. डा बद्रीप्रसाद बडु
१४. डा आरपी बिच्छा
१५. डा अनिल मिश्र
१६. डा हरिषचन्द्र उप्रेती