काठमाडौं- कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा देखिएको छ। यो भाइरसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ। चीनमा हालसम्म यो भाइरसका कारण २१३ जनाको ज्यान गइसकेको छ भने ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्।
चीनबाहेकका १७ देशमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ। चीनबाहिरका देशमा ८२ जनामा यो भाइरसक भेटिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार तीन जनामा यो भाइरस मानिसबाट मानिसमा सरेको पाइएको छ। यी मध्ये एक जनाको अवस्था गम्भिर छ।
चीनबाहिर भेटिएका ८२ संक्रमितमध्ये ७ जना चीनमा यात्रा नगरेका पाइएको छ।
कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकालीन घोषणा गरेको छ।
कमजोर स्वास्थ्य प्रणाली भएका देशहरुमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको जनाउँदै डब्ल्यूएचओले विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको जनाएको छ।
‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’ का रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ। यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो।
कोरोना भाइरसको संक्रमण चीनका सबै क्षेत्रमा फैलिएको छ। बिहीबार मात्रै थप १९८२ जना संक्रमित भेटिएका हुन्। सबैभन्दा पहिला यो भाइरस चीनमा नै देखिएको थियो।
चिनको उहान सहरमा देखिएको भाइरसको संक्रमण नेपालमा समेत आइपुगेको छ। चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस भेटिएको पुष्टि समेत भइसकेको छ। भाइरसको आशंकामा केहीको नमुना परीक्षण गरिएको छ।
उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।
भाइरसको संक्रमण चीनपछि सबैभन्दा बढी थाइल्यान्डमा भेटिएको छ। थाइल्यान्डका १४ जनामा यो भाइरसको संक्रमण भेटिएको पुष्टि भइसकेको छ।
यी हुन् कोरोना भाइरसको संक्रमण फेला परेका १८ देश र संक्रमित संख्या
चीन- ९६९२, मृत्यु - २१३
थाइल्यान्ड- १४
जापान- ११
सिंगापुर- १०
अष्ट्रेलिया- ९
मलेसिया- ७
कोरिया- ६
अमेरिका- ६
फ्रान्स- ६
जर्मनी - ४
युएई- ४
भियतनाम- २
क्यानडा -२
कम्बोडिया- १
श्रीलंका - १
नेपाल- १
भारत - १
फिनल्यान्ड
जम्मा- ९७७४
मृत्यु- २१३
नोवेल कोरोना भाइरस भनेको के हो?
यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरुमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भिर प्रकारको तीव्र श्वासप्रस्वास सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)सम्म गराउन सक्दछ।
मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ?
मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने विषयमा आजसम्म वैज्ञानिक तवरले पुष्टि भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।
के यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दछ?
अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरु बिरामी भएको पाइएकोले मानव–मानवबीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ। तर, अझै मानिसहरुबीच सहजै सरेको हो भनेर पुष्टि भने भएको छैन। साथै परिवारका सदस्यहरु एकै स्रोतबाट संक्रमण भएको हुनसक्ने सम्भावना पनि रहेको छ।