काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले तीनवटा समिति गठन गरेको छ। विश्वमा कोरोना भाइरसको सङ्क्रमण झन् बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामका लागि तीनवटा समिति गठन गरेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको हो। सदस्यहरूमा सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख हुनेछन्।
समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्यअन्तर्गतका सबै परिषद्का अध्यक्षहरुलाई पदअनुसार सदस्य तोकिएको छ। उच्चस्तरीय अनुगमन समितिले कोरोनाको रोकथामका लागि विभिन्न निकायले गरिरहेका कामहरूको अनुगमन गर्नेछ। -रासस