काठमाडौं –चीनले कोरोना प्रभावित क्षेत्र युहानमा रहेका सबै नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको छ। नेपालस्थित चिनियाँ राजदुतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी युहानमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘युहानमा अझै पनि नेपाली नागरिक रहेका छन् । उनीहरुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्छौं।’ कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पहल गरिरहेको भन्दै आश्वस्त रहन चीनले आग्रह गरेको छ। यदी आवश्यक परे नेपालस्थित चिनियाँ राजदुतावास र चीनको विदेश मन्त्रालयसंग सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण चिनियाँ पर्यटकको आवागमनमा असर परेको भन्दै चीनले यसको नियन्त्रणपछि भिजिट नेपाल २०२० लाई सफल पार्न प्रोत्साहन गर्ने बताएको छ। ‘हाल चिनियाँ पर्यटकको संख्या प्रभावित भएको छ । तर यसको महामारी नियन्त्रणपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल घुम्न प्रोत्साहन गर्ने र भिजिट नेपाल २०२० लाई सफल बनाउन योगदान गर्नेछौं।’, विज्ञप्तिमा भनिएको छ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयास भइरहेको चिनियाँ सरकारले जनाएको छ । कोरोना भाइरसको जोखिम रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै चीनमा रहेका विदेशी नागरिकको स्वास्थ्य सुरक्षा प्रति जिम्मेवार रहेको उसको भनाई छ।