काठमाडौं – चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५९ पुगेको छ। शुक्रबार साँझसम्म मृतकको संख्या २ सय १३ थियो। शनिबार बिहानसम्म ४६ जना मानिसको मृत्यु भएसंगै २ सय ५९ पुगेको हो। चीनका स्वास्थ्य अधिकारका अनुसार त्यहाँ मात्र ११ हजार ७ सय ९१ जनामा कोरोना भाइरस देखिएको छ।
हुबेइ प्रान्तको युहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलदै गएको छ। चीन, युके, स्पेन सहित २० राष्ट्रमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चीन बाहेक अन्य राष्ट्रमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।
कोरोना भाइरसको जोखिम रोकथामका लागि नेपाल सरकारले तीन वटा समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा स्तरीय अनुगमन समिति, सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. दीपेन्द्र रमण सिंहको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन गरेको छ।
चीनको युहान प्रान्तमा रहेका नेपालीले स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरिरहेका छन्। मन्त्री ढकालले शुक्रवार नेपाली चीनका राजदुतसंग नेपालीहरुको स्वास्थ्य अवस्था, उनीहरुले पाएका सुविधाका विषयमा छलफल गरेका छन्।