डा रामदेव पण्डित
हिजोआज जाडो मौसम छ। चिसोले श्वासप्रश्वास प्रणालीका धेरैखाले समस्या निम्त्याउँछ। श्वासप्रश्वासको समस्या निम्त्याउने विभिन्न कारणमध्ये फोक्सोको क्यान्सर पनि एक हो।
विश्व स्वास्थ संगठनका अनुसार विश्वमा मृत्युको प्रमुख कारणमध्ये क्यान्सर दोस्रो प्रमुख कारण मानिन्छ। सन् २०१८ को तथ्याङ्कअनुसार ९६ लाख मानिसको मृत्यु क्यान्सर लागेर भएको थियो। अर्थात् ६ जनामध्ये १ को मृत्यु क्यान्सरले भइरहेको छ। यसरी क्यान्सरको कारण मृत्यु हुनेहरुमध्ये ७० प्रतिशत मृत्यु निम्न र मध्य आय भएका देशमा भइरहेको पाइन्छ।
मानव शरीरको कुनै अंगको कोष अनियन्त्रित हिसाबले बृद्धि हुन थाल्नु भनेको क्यान्सर हुनु हो। क्यान्सर लगाउने तत्वलाई कार्सिनोजिन भनिन्छ। कार्सिनोजिनहरु भौतिक, रासायनिक तथा जैविक प्रकारको हुने गर्छन्। बढ्दो उमेर पनि क्यान्सरको घातक कारण मानिन्छ। बढ्दो उमेरसँगै क्यान्सर लाग्ने सम्भावना स्वभाविक रुपमा बढेको पाइन्छ। अन्य घातक कारणहरुमध्ये मद्यपान, सुर्ती सेवन, अस्वस्थकर खाना र निष्क्रिय जीवनशैली प्रमुख मानिन्छन्।
आयुर्वेद अनुसार क्यान्सर भनेको शरीरको कुनै अंगमा सुन्निएको वा नसुन्निएको प्रकृतिको बृद्धि हो, जसलाई ग्रन्थी (माइनर नियोप्लाजमा) वा अर्बुद (मेजर नियोप्लाजमा) भनिन्छ। शरीरमा त्रिदोषको युद्धको कारण क्यान्सर हुन्छ। शरीरको कोषमा धात्वाग्नी घट्छ र चय उपचय क्रियामा वात एवं कफ एक अर्कालाई जब थिच्न खोज्छ तब अनावश्यक रुपले शरीरमा कोषको बृद्धि भएर क्यान्सर उत्पन्न हुन्छ।
संगठनकै अनुसार सन् २०१८ मा २० लाख क्यान्सर रोगी मात्र फोक्सोको क्यान्सरबाट पीडित भएको भेटिए। जसमध्ये १७ लाख फोक्सोको क्यान्सर भएका रोगीले मृत्युवरण गर्नु प¥यो। क्यान्सर रोग विश्वको एक प्रमुख चुनौती बनेको छ।
सन् २०१७ मा विश्व स्वास्थ महासभाबाट ‘एकीकृत विधिबाट क्यानसर रोकथाम तथा नियन्त्रण नियमावली (डब्लुएचए ७०.१२)’ पारित गरियो। त्यसै घोषणाबाट दिगो विकासका लागि संयुक्त राष्ट्र एजेन्डा २०३० एवं विश्व कार्य योजनाका मार्फत नै विश्वका सरकारहरु र विश्व स्वास्थ संगठनलाई क्यान्सरमा प्राथमिकता साथ कार्य गर्न आह्वान गरेको छ।
जुन कुनै क्यान्सर रोगबाट बच्न क्यान्सरका घातक कारणभन्दा पर बस्नुपर्छ। शंका लागे क्यान्सरको जाँच गरिहाल्नु पर्छ। जति छिटो क्यान्सर भएको थाहा पाउन सकियो र समयमै पर्याप्त मात्रामा सही उपचार दिन सकियो, निको हुने सम्भावना त्यति नै बढी हुन्छ।
आधुनिक चिकित्सा विज्ञानका अनुसार फोक्सोमा हुने क्यान्सरमध्ये ९० प्रतिशत क्यान्सर फोक्सोको सतही कोषबाट (इपिथेलियल तह) हुन्छ। त्यसै कारण फोक्सोको क्यान्सरलाई कहिलेकाहीँ ब्रोङ्कोजेनिक कार्सिनोमा पनि भनिन्छ। फोक्सोको खोल (प्लयुरा) बाट हुने क्यान्सरलाई मेसोथेलियोमा (चुरोट खानेहरु, ग्याँस उद्योग एवं खानीमा काम गर्नेहरुमा बढी हुने) भनिन्छ।
सामान्य रुपमा फोक्सोको क्यान्सर दुई प्रकारको मानिन्छः
क) बेनाइन (आयुर्वेदः एक वा दुई दोषज अर्बुद/गुल्म) : नफैलिने क्यान्सर।
ख) मेलिग्नेन्ट (आयुर्वेदः त्रिदोषज अर्बुद/मांसार्बुद/रक्तार्बुद) : फैलिने क्यान्सर।
फैलिने क्यान्सरको प्रकारः
१. स्मल सेल लङ क्यान्सर
२. नन स्मल सेल लङ क्यान्सर (३ प्रकारको हुन्छ)
क) एडिनोकार्सिनोमा
ख) स्कवामस सेल कार्सिनोमा
ग) लार्ज सेल कार्सिनोमा
फोक्सोमा क्यान्सर भएको थाहा पाउने विधिः
१. छातीको एक्स–रे (सेतो र जमेको देखिन्छ)
२. खकार जाँच (मेटास्ट्यासिक कोषहरु देखिन्छ)
३. ब्रोङक्सकोपी
४. फोक्सोको सिटी स्क्यान
५. फोक्सोका कोषहरुको साइटोलोजी तथा हिस्टोप्याथोलोजी र बायोप्सी
फोक्सो क्यान्सरको अवस्था निर्धारणः
१. प्रथम अवस्थाः क्यान्सर कोष फोक्सोमा भेटिन्छ तर फोक्सो बाहिर फैलिएको हुँदैना।
२. दोस्रो अवस्थाः क्यान्सर फोक्सो र नजिकैको लिम्फ नोडमा फैलिएको हुन्छ।
३. तेस्रो अवस्थाः क्यान्सर फोक्सो र नजिकैको लिम्फ साथै छातीको मध्य भागमा पनि फैलिएको हुन्छ।
४. चौथो अवस्थाः क्यान्सर दुवै फोक्सो र टाढाको क्षेत्र एवं अंगहरुमा फैलिइसकेको हुन्छ।
उपचार विधि
फोक्सो क्यान्सरको उपचार प्रारम्भिक अवस्थामा हुन सकेन भने त्यो स्वभाविक रुपमा फैलिन्छ, जसलाई मेटास्टेसिस भनिन्छ। अनुसन्धानहरुका अनुसार क्यान्सर फैलिसकेपछि विभिन्न उपचारद्वारा ५ वर्षको जीवन बाँच्ने सम्भावना पुरुष बिरामीमा १६ प्रतिशत र महिला बिरामीमा २० प्रतिशत मात्र हुने हुन्छ।
क्यान्सरको चिकित्सा निकै द्विविधात्मक पाइन्छ। अतः यस्तो अवस्थामा क्यान्सरको दुखाइबाट बच्न र क्यान्सरको फैलिने क्रमलाई रोक्न आयुर्वेद, योग तथा आहार चिकित्सा एउटा उत्तम विकल्प हुन्छ।
१. औषधि
आधुनिक विज्ञानमा क्यान्सरले उत्पन्न गर्ने विभिन्न लक्षण दबाउन औषधिहरु प्रयोग गरिन्छ। जस्तै दुखाइको लागि दुःख निवारक, कफ र खोकीको लागि कफ–खोकी निवारक, ज्वरोको लागि ज्वरहर औषधिहरु, अनिद्राको लागि निन्द्रा जनन औषधिहरु प्रयोग गरिन्छ।
आयुर्वेदले क्यान्सरलाई ठोकुवाका साथ निको पार्छ भन्ने अवस्था त छैन, अनुसन्धान भइरहेको छ। तर क्यान्सर सहितको जीवनलाई सहज, सुलभ एवं सस्तो भने अवश्य बनाउँछ। आयुर्वेदमा प्रयोग हुने शास्त्रोक्त जडिबुटीहरुः अंगुर, अजय पाल, महुवा, केतकी, कर्णिकार, मुला, भेंडे कुर्रो, शमी, ओल, टटेलो, पारो वा पोई साग, आलुबखडा, सितल चिनी, बर, बेसार, आदि।
२. शल्यक्रियाः क्यान्सरका कोषहरु फैलिएको अंग वा अंगको अंशलाई काटेर फालिन्छ, जसमा फोक्सोको लोबको केही अंश वा पूरा लोब नै वा पूरा फोक्सो नै काटेर फालिन्छ।
३. केमोथेरापीः कडाभन्डा कडा रासायनिक औषधिहरुको अत्यधिक मात्रामा प्रयोग गरी क्यान्सर कोषहरुको फैलावट रोक्ने विधि हो यो।
४. रेडियसन : यसमा उच्च तीब्रताको प्रकाश (अल्ट्रा भाइलेट किरण) प्रयोग गरी क्यान्सर कोषहरुलाई मार्छ र क्यान्सर कोषले नयाँ क्यान्सर कोषहरु बनाउनका लागि उत्पादन गर्ने इन्जाइमलाई समेत मार्छ।
५. आयुर्वेद, योग तथा आहार
आयुर्वेदमा फोक्सो वा अन्य कुनै पनि प्रकारको क्यान्सरको चिकित्सा निम्न सिद्धान्तबाट गरिन्छः प्रकृति स्थापनी चिकित्सा (शोधन/पञ्चकर्म), रोग नासिनी चिकित्सा (संमन/औषध), रसायन चिकित्सा र नैष्ठिकी चिकित्सा (ध्यान, उपवास)।
– आयुर्वेद शास्त्रअनुसार क्यान्सर उपचारमा खाली पेटमा ५०/५० मिलि गोमुत्र र जमरा प्राथमिकताका साथ दैनिक पिउन दिनुपर्छ।
– घटेको तौल सन्तुलन गर्न अश्वगन्धा, शतावरी, बला र अंगुर तथा अरुचि हटाउन चित्रक, गुर्जो शुण्ठी आदिको प्रयोग गरिन्छ।
– क्यान्सरमा हुने अतिसार रोक्न बेल, कुटज, अनार, मोथे, अमला, चित्रक, आदिको प्रयोग गरिन्छ।
– क्यान्सर रोगीमा हुने कब्जियत र अपचसम्बन्धी समस्याहरुको लागि हर्रोको प्रयोग गरिन्छ।
– क्यान्सरमा हुने वाकवाक र वान्ता रोक्न भृङ्गराज, अमला, अश्वगन्धा, पिपली, आदिको प्रयोग गरिन्छ।
– क्यान्सरको बेला रोग प्रतिरोधात्मक क्षमतामा हुने कमजोरीलाई हटाउन बला प्रयोग गरिन्छ।
– दुखाइको व्यवस्थापनका लागि लसुनको प्रयोग गरिन्छ।
– निन्द्रा लगाउन, मानसिक रुपमा शान्त र बलियो रहन ब्राह्मी, अश्वगन्धा, शतावरी, जटामसी, अलैंची, घोडताप्रे, शुण्ठी, गोक्षुर, भृङ्गराज, तुलसी आदिको प्रयोग गरिन्छ।
– कफ र बढेको श्वासलाई नियन्त्रण गर्न बेसार, शुण्ठी, यष्ठिमधु, हर्रो, लुलसी, वासा, आदिको प्रयोग गर्ने।
प्रयोग हुने अन्य जडिबुटीहरुः मुङ्गरेलो (फोक्सोको क्यान्सरमा उत्तम), कुष्ठ, वृहत/कन्टकारी, भारङ्गी, धतुरो, पुरकरमूल, आदि।
प्रयोग हुने तयारी औषधिहरुः काञ्चनार गुग्गुल, संजीवनी वटी, वद्धिबाधिका वटी, आरोग्यवर्धिनी वटी, महा/मञ्जिष्ठादि क्वाथ/खदिरारिष्ट, वसन्त कुसुमाकर रस, अस्वगन्धा/यष्ठिमधु चुर्ण, स्वर्ण/अभ्रक/ताम्र भष्म/यसद भष्म/हिरक भष्म, गुडुची सत्व, दशमुल घृत, च्यवनप्रास अवलेह, भल्लातक आसव, रस सिन्दुर, चतर्भुज रस, लक्ष्मी विलास रस, हेम गर्भ रस, सितोपलादी चुर्ण, तालिसादी चुर्ण, द्राक्षा आसव, निमपत्र स्वरस, धृतकुमारी रस, आदि मिलाएर प्रयोग गरिन्छ।
मास्क लगाएर प्रातः भ्रमण गरेपछि सधैं केही हल्का व्यायाम गर्न लगाउनुपर्छ। योगको सरल आसनहरु पनि सके गराउन सकिन्छ। नाक श्वासप्रश्वास गराई गर्न सकिने प्राणायाम गराउन सकिन्छ। विशेष रुपमा ध्यान गराउन लाभदायी हुन्छ।
जनावरजन्य आहारले क्यान्सर कोषहरुको वृद्धि गराउने भएकोले सकेसम्म बोटबिरुवाजन्य खाध्य पदार्थको सेवन नै गर्नुपर्छ। दूधजन्य आहार पनि राम्रो मानिँदैन। घर बाहिरको खाना खानै हुँदैन। बोसो र प्रोटिनको कमै मात्रामा प्रयोग गर्नु राम्रो मानिन्छ। १२ घन्टाको दैनिक उपवासपछि एक पटकमा एकै प्रकारको फल वा फलरसको सेवनले प्रभावकारी लाभ दिन्छ। सके एक छाक मात्र अन्नयुक्त भोजन गर्नुपर्छ।
६. मनोचिकित्साः
क्यान्सर रोगीको इच्क्षाशक्ति बलियो राख्नुपर्छ। सकरात्मक सोच बनाइराख्नु पर्छ। त्यसमा परिवार एवं आफ्न्तजन सबैले सहयोग गर्नुपर्छ। सबैले प्रेम र स्याहार दिनुपर्छ। रोग र रोगीको बारेमा सकारात्मक तथ्यहरुको बारेमा मात्र चर्चा गर्नुपर्छ। मनोरञ्जनमा समेत संलग्न गराउनु पर्छ।
(डा पण्डित पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, धुलिखेलका आयुर्वेद चिकित्सक हुन्)