काठमाडौं – कोरोना भाइरस प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेका नेपाली नागरिकलाई सरकारले स्वदेश फर्काउने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलदै गएपछि सरकारले हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो।
चीनस्थित नेपाली राजदुतावासले शनिवार सूचना प्रकाशित गर्दै हुवेई प्रान्तमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने जनाएको छ। त्यहाँ रहेका नेपालीले आफु असुरक्षित रहेको भन्दै सरकारलाई नेपाल फर्काउन आग्रह गरेका थिए।
उनीहरुलाई स्वदेश फर्काउनका लागि विशेष चार्टर विमानको व्यवस्था गरिने सूचनामा उल्लेख गरिएको छ। सो बिमान उपलब्ध हुने वित्तिकै छिटो भन्दा छिटो सूचना दिइने दुतावासले जनाएको छ । स्वदेश फर्कन चाहने नेपालीले दुतावासले उल्लेख गरे अनुसार फर्म भर्नुपर्नेछ। दुतावासका अनुसार स्वदेश फर्कन चाहने नेपालीले भरेका फर्मका आधारमा चार्टर विमानको व्यवस्था गरिनेछ ।
आइतवार बिहान ९ बजेसम्म फर्म भरिसक्नुपर्नेछ । ढिला गरी भरिएका फर्म स्वीकार्य नहुने दुतावासले जनाएको छ । फर्मको विस्तृत जानकारीका लागि दुतावासको वेबसाइडमा हेर्न सकिन्छ । केही आवश्यक परे दुतावासको मोबाइल नम्बर १५७० १२८५७ ६३ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न जहाज तयारी अवस्थामा रहेको बताएका थिए।
