काठमाडौं– नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक सन् २०२० को पहिलो महिनामै १० प्रतिशतले घटेका छन्। सन् २०१९ को जनवरीको तुलनामा २०२० को जनवरीमा नेपाल आउने पर्यटकको संख्यामा १० प्रतिशतले कमी आएको हो।
अध्यागमन विभागमा अनुसार २०२० को जनवरीमा १२ हजार २ सय चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन्। २०१९ को सोही अवधिमा भने १३ हजार ६ सय ८८ आएका थिए। पहिलो महिनामै चिनियाँ पर्यटक अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ हजार ४ सय हाराहारीले घटेका हुन्। यसको प्रत्यक्ष असर भिजिट नेपाल २०२० मा पनि देखिने भएको छ।
फेब्रुअरिमा झन् चिनियाँ पर्यटक घट्ने निश्चित छ। हिमालय एयरलाइन्सले चीनका ३ गत्तव्यको उडान कटौति गरिसकेको छ भने रसुवागढी नाका १५ दिनका लागि बन्द भइसकेको छ। रसुवागढी नाकाबाट मात्रै मासिक २ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने गर्थे।
चीनले कोरोना भाइरस देखा परेको प्रान्तबाट बाहिर जानसमेत प्रतिबन्ध लगाइसकेको छ। जसका कारण नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक अझै घट्दै जाने अवस्था देखिएको छ। सरकारले भने सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ। तर, चिनियाँ पर्यटकको सिजनमै कोरोना भाइरसका कारण नेपाल भ्रमण आउने पर्यटकको संख्या घटेको नेपाल होटल एसोसिएसन ९हान०का वरिष्ट उपाध्क्ष विनायक शाह बताउँछन्।
यसैगरी, चिनियाँ पर्यटकको बुकिङसमेत रद्द हुने क्रम बढेको उनको भनाइ छ।