काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट फिलिपिन्समा एक जनाको मृत्यु भएको छ। कोरोनाको संक्रमणले चीन बाहिर मृत्यु भएको यो पहिलो घटना हो। हुवेई प्रान्तको युहानका ४४ वर्षीय चिनियाँ व्यक्तिको मृत्यु भएको हो।
ती व्यक्ति ३८ वर्षीया एक चिनियाँ महिलासंग हङकङ हुँदै युहानबाट फिलिपिन्स पुगेका थिए। गत हप्ता परीक्षण गर्दा उनमा कोरोनाको संक्रमण पुष्टि भएको फिलिपिन्सको स्वास्थ्य विभागले जनाएको छ। अस्पताल भर्ना गरिएपनि उनलाई गम्भीर निमोनिया भएको थियो।
विश्व स्वास्थ्य संगठन फिलिपिन्सका प्रतिनिधि रविन्द्र अवियासिंघेले मानिसलाई शान्त रहन आग्रह गरेका छन्। उनले भने, ‘चीन बाहिर मृत्यु भएको यो पहिलो घटना हो। तर हामीले ध्यान दिनुपर्ने कुरा भनेको यो स्थानीय प्रकोप होइन। यो बाहिरबाट आएको घटना हो।’ उनी फिलिपिन्स जानु अघि संक्रमित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ। शनिवारसम्म संख्या २ सय ५९ थियो। चीनमा एकै दिन ४५ बढी मानिसको मृत्यु भएसंगै मृतकको संख्या ३ सय ४ पुगेको हो। १४ हजार ३ सय ८० व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। अझै पनि ७५ हजार मानिस संक्रमित हुन सक्ने विज्ञहरुले अनुमान गरेका छन्।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै अमेरिका र अष्ट्रेलियाले आफ्ना नागरिकलाई चीनमा भ्रमण गर्न प्रतिवन्ध लगाएको छ। सन् २००३ मा महामारीको रुपमा देखिएको सार्स भन्दा नोबेल कोरोना भाइरस तिव्र गतिमा फैलिदै गएको छ। तर यसको मृत्युदर भने कम रहेको संगठनले जनाएको छ।
हालसम्म भारतले आफ्ना ३ सय र जर्मनले एक सय नागरिकको उद्धार गरेका छन्। थाइल्याण्ड र रसियाले पनि युहानबाट आफ्ना नागरिकलाई उद्धार गर्ने तयारी गरेका छन्। चीनले युरोपिय युनियनसंग कोरोना भाइरसको रोकथामका लागि मेडिकल उपकरणको माग गरेका छन्।